Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विमान दुर्घटनामा गायिका छन्त्यालको निधनले कलाकारिता क्षेत्र शोकमा, के भन्छन् कलाकार ? 

विमान दुर्घटनामा गायिका छन्त्यालको निधनले कलाकारिता क्षेत्र शोकमा, के भन्छन् कलाकार ? 

  • 369
    SHARES
  • विमान दुर्घटनामा गायिका छन्त्यालको निधनले कलाकारिता क्षेत्र शोकमा, के भन्छन् कलाकार ? 

    काठमाडौं । यती एयरको विमान दुर्घटनामा परी लोकदोहोरी गायिका निरा छन्त्यालको निधन भएको छ ।

    images

    विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनामा निधन भएको हो ।

    ‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन आइतबार बिहान काठमाडौंदेखि पोखरा गएकी थिइन् ।

    माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा निधन भएको उनकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् ।

    उनी सवार विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनासँगै नेपाली लोकसङ्गीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ ।

    बाग्लुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मिएकी छन्त्याल पछिल्लो समय चर्चामा थिइन् । कलाकार टिका सानुले नेपाली लोक साङ्गीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताइन् । बडिगाड–८ का टिका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताइन् ।

    ‘पछिल्लो पटक गत मंसिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो’, पाइजाले भनिन्, ‘दुई/तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।’ 

    छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने गर्थिन् । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौं छिरेकी थिइन् ।

    गायनमा सफल हुँदै गएपछि उनको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन् ।

    गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

    शनिबार नै टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन् । पोखरामा आउनुअघि उनले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएकी थिइन् ।

    फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेती खोँचमा अस्ताइन् । बुबाआमालगायत उनका परिवारजन बाग्लुङ गाउँमै बस्छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology