वेबटिभी खबर
चितवन । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्र बनाएको छ । निकुञ्जले यस वर्ष ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसे मैदान बनाउने काम सुरु गरेको हो ।
अहिले निकुञ्जको तमोरताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार यस आयोजनाअन्तर्गत दुई सय २५ हेक्टर क्षेत्रफमा घाँसेमैदान व्यवस्थापन र निर्माणको काम सुरु गरिएको हो । घाँसेमैदान व्यवस्थापनका लागि ३३ लाख ७५ हजार र नयाँ निर्माणका लागि ३५ लाख बजेट विनियोजन भएको छ ।
निकै कम रकममा ठेक्क परेको बताउँदै उनले अहिले पश्चिमी क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको जानकारी दिए । निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ ।
यस्तै तराई भूपरिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको कामसमेत छ । यसका लागि १५ लाख बजेट विनियोजन भएको छ । निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माणको काम भईरहेको छ ।
पश्चिम क्षेत्रको घाँसेमैदान व्यवस्थापनको काम सकिए लगत्तै पूर्वी क्षेत्रमा काम सुरु गरिने छ । पूर्वी क्षेत्रमा अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले अनुमती लिएर घाँसेमैदान व्यवस्थापनको काम गरिरहेको तिवारीले बताए ।
चैत महिनाभित्र घाँसेमैदान व्यवस्थापनको काम सक्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए । निकुञ्जको १० प्रतिशत भूभाग घाँसेमैदान रहेको छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको संख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुनेछ ।
घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij