वेबटिभी खबर
काठमाडौं । कालीमाटीमा तरकारी ढुवानी गर्ने गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको छ । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै बजारका व्यवसायीका सवारी-साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको हो ।
करिब ७० वटा सवारी साधन तरकारी ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर-बिजोर प्रणाली लगाउने निर्णय गरेको बताए ।
उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेपनि प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन ।
कालीमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर-बिजोर प्रणाली लगाउनुपरेको भट्टराईले बताए ।
उपत्यका बाहिरबाट तरकारी ल्याउने गाडीमा भने जोरविजोर प्रणाली नलाग्ने उनले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij