वेबटिभी खबर
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले मन्त्रालयबाट जनतालाई प्रवाह हुने सेवा सुविधालाई सहज र प्रभावकारी बनाउने बताएकी छिन् ।
मन्त्रालयमा पदस्थापनका क्रममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । मन्त्री पौडयालले भनिन्, ‘मेरो पहिलो प्राथमिकता भनेको मन्त्रालयबाट जनतालाई हुने सेवा प्रवाह सहज बनाउने हो ।’
साथै उनले नेपालस्थित विदेशी कूटनीतिक नियोगसँग कसरी समन्वयमा काम गर्ने र आफ्नो राष्ट्रिय स्वार्थमा सम्झौता नगरी कसरी बढी लाभ लिन सकिन्छ भनेर द्विपक्षीय सम्बन्ध सृदृढ बनाउने विषय पनि प्राथमिकतामा रहेको जानकारी दिइन् ।
नवनियुक्त मन्त्री पौड्यालले विदेशमा रहेका नेपाली नियोगमा नेपालीलाई सहज पहुँच बनाई कुनैपनि व्यक्ति दूतावास जाँदा घरमा आएको अनुभव हुने गरी पहुँच र सहजता प्रदान गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सीमा विवाद समाधानसम्बन्धी सञ्चारकर्मीको जिज्ञासामा उनले सबैसँग अध्ययन र छलफल गरेर सो विषयमा अघि बढ्ने धारणा व्यक्त गरिन् । उनले हाम्रो परराष्ट्र नीति ‘असंलग्न परराष्ट्र नीति’ भएको बताउँदै सो नीति नै पहिलेदेखि पालना गर्दै आएको बताइन् ।
‘त्यसलाई व्याख्या गर्ने क्रममा दलहरूबीच फरक पर्न सक्छ, तर हाम्रो नीति त्यही हो, हालको परराष्ट्र नीतिलाई नै साझा बनाएर अघि बढने हो, व्यक्तिपिच्छे परराष्ट्र नीति हुनुहुदैन’, उनले भनिन् ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिका प्रभावकारी बनाउने आफ्नो अर्को प्राथमिकताको विषय भएको बताउँदै मन्त्री पौड्यालले भनिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा हामी जसरी प्रस्तुत हुन्छौं, नेपालको छवि पनि त्यही हुन्छ । नेपालको छवि सुदुढ बनाउने गरी अघि बढ्छौँ ।’
उनले पदस्थापनका क्रममा श्रीलंकासँग ‘फरेन सर्भिस ट्रेनिङ इन्स्टिच्यूट’ सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रको म्याद थप गर्ने आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरिन् ।
यसअघि सन् २०१८ मा भएको उक्त समझदारी पत्रको अहिले म्याद सकिन लागेकाले त्यसलाई आगामी चार वर्षका लागि म्याद थप गर्ने निर्णय सदर गरिएको मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij