ब्रसेल्स । युरोपेली संघले युक्रेनलाई ५० करोड युरो बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ ।
संघमा आवद्ध देशका विदेशमन्त्रीको सोमबार भएको बैठकले उक्त रकम बराबरको सैन्य सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
युक्रेनी सेनाको तालिमका निम्ति चार करोड ५० ला युरो बराबरको सहायता प्रदान गर्न संघ सहमत भएको विदेश मामिला प्रमुख जोसेप बोरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बताए ।
संघले युक्रेनलाई उपलब्ध गराउने यो सैन्य सहयोगको सातौँ खेप हुनेछ । युक्रेनलाई सर्वाधिक सहायता प्रदान गर्ने युरोपेली संघ भएको छ । संघको सहयोग ५० अर्ब युरोको हाराहारीमा पुगेको छ ।
पश्चिमा देशले युक्रेनलाई हतियार उपलब्ध गराएर द्वन्द्व समाधान नहुने बरु त्यो अझ लम्बिने र त्यसले युक्रेनी जनताको दुःखकष्ट बढाउने रुसले बताउँदै आएको छ ।
बैठकमा इरानको वर्तमान अवस्था तथा विभिन्न उच्च संघसंस्था, प्रतिनिधिसहित ३७ जना इरानी अधिकारीमाथि चौथो चरणको प्रतिबन्ध लगाउने सम्बन्धमा पनि छलफल गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology