Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

  • 193
    SHARES
  • धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

    बाग्लुङ । धौलागिरि अस्पताल बाग्लुङले डायलासिस सेवाको क्षमता थप गरेको छ ।

    images

    मिर्गौला पीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो ।

    आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिइन् ।

    आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मंसिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो ।

    अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ । हाल अस्पतालमा ४४ जना मिर्गौलाका बिरामीले नियमित निःशुल्क रूपमा डायलासिस सेवा लिँदै आएका छन् ।

    तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरूले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलासिस गर्दै आएका छन् ।

    नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् । छ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलले बताइन् ।

    एउटा मेसिनले बेलाबेलामा काम गर्दैन । पाँचवटा मेसिन नियमित सञ्चालनमा छन् । गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ । अझै पाँच/छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको छ ।

    डायलासिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलको भनाइ छ । स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरू तयार रहेको पौडेल बताइन् ।

    एउटा मेसिन खरिद गर्दा करिब १५/१६ खर्च हुन्छ । धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ ।

    डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ ।

    एक बिरामीको एक पटक डायलासिस विद्युत् र डाइलाइजर बाहेकको करिब दुई हजार छ सय ७० खर्च आउँछ । सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ ।

    डायलासिस सेवामा पाँचजना कार्यरत छन् । उक्त जनशक्ति सेवा प्रवाहका लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology