Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

उपप्रधानमन्त्री लिङ्देन भन्छन्– धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्त्वपूर्ण

उपप्रधानमन्त्री लिङ्देन भन्छन्– धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्त्वपूर्ण

  • 297
    SHARES
  • उपप्रधानमन्त्री लिङ्देन भन्छन्– धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्त्वपूर्ण

    भैरहवा । लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्तिपिठ स्थापनाको काम अघि बढाइएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजको पहलमा जगद्गुरुपीठ निर्माणका लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।

    images

    ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहनशरण देवाचार्यले चौँथो शक्तिपिठका रुपमा स्थापना गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको महायज्ञमूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए ।

    सुनसरीको चतराधाममा विसं २०५९ मा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, सांस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले यहाँ जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको उनको भनाइ छ ।

    पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदापीठ महाकाली, तेस्रो निलाद्रीपीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौँथो भैरहवापीठ स्थापना हुनेछ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताए ।

    महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा.यादवशरण गड्तौलाका मुखारविन्दबाट पाठपारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

    पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्वारी, लुम्बिनीलगायत नेपालका धार्मिकस्थल दर्शन गर्न आउने भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुविधासहित भैरहवापीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

    चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थान, चतराधाम, जगद्गुरु आश्रम शङ्खमूल र शारदापीठमा जगद्गुरुकुलम् सञ्चालनमा छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, सांस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ ।

    महायज्ञको पूर्ण आहूति कार्यक्रममा उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले धार्मिक कार्यक्रमले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।  उनले भने, ‘नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पीठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनलाई महत्त्वपूर्ण योगदान पुर्‍याउने छ ।’

    उनले यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम सँगसँगै यहाँको पर्यटनमा पनि सहयोग पुर्‍याउने हुनाले मैले व्यक्तिगत तरिका र सरकारको तर्फबाट सहयोग गर्ने बताए । उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डित पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवस्थामा पनि आफू अडिग भएर हिन्दूधर्मको पक्षमा लागेको बताए ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology