सर्लाही । भर्खरै सम्पन्न संसदीय निर्वाचनमा सर्लाहीको क्षेत्र ३ मा कडा प्रतिस्पर्धा भयो । एमालेका हरि उप्रेतीले जिते भने वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नरेन्द्र साहले झिनो मतले पराजय व्यहोरे । चुनावी नतिजापछि केही सुनसान देखिएको सर्लाहीको राजनीतिमा बुधबार भने अलि फरक दृष्य देखियो ।
चुनाव जितेर रक्षा मन्त्री बनेका उप्रेती सेनाको हेलिकप्टरमा बुधबार सर्लाहीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजना भएको एउटा महोत्सव उद्घाटन गर्न पुगेका थिए । बुधबार नै हारेका उम्मेदवार साह भने आफ्नो क्षेत्रका विद्यालयहरुमा पुगेर विद्यार्थीलाई कापी र कलम बाँडिरहेका थिए ।
एकातिर राज्यले दिएको सुविधा उपयोग गरेर भाषण छाँट्न रक्षा मन्त्री पुगेका थिए भने अर्काे तिर चुनाव हारेर पनि विद्यार्थीलाई राम्रो पढ्ने वातावरण निर्माण गर्न कापी र कलम लिएर वितरण गर्न साह पुगेका थिए ।
रक्षा मन्त्रीको रुपमा सेनाले बनाइरहेको फास्ट ट्रयाक निरीक्षण गर्न काठमाडौंबाट निस्केका उप्रेती उतैबाट हेलिकप्टरमा सर्लाही पुगेका हुन् । ऐतिहासिक मूर्तिया मन्दीर भएको ठाउँमा आयोजित मुक्तेश्वर महोत्सवको उद्घाटन गरे ।
साहले आफूले चुनाव लडेको निर्वाचन क्षेत्रका सबै वडाका विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका हुन् । बरहथवा, चक्रघट्टा, हेमपुरलगायतका विद्यालयमा कापी र कलम वितरण गरिएको हो । साहले आफ्नै स्रोतबाट ७५ हजार थान कापी र सोही परिमाणमा कलम वितरण गरेका हुन् ।
साहले विद्यालय र कक्षा कोठा सुधारको योजना पनि विद्यालयलाई दिएका छन् । शिक्षाले नै देशका विकास गराउने भएकाले त्यस क्षेत्रमा आफूले सहयोग गरेको साहले बताए । ‘विद्यार्थी भनेको भविष्यका कर्णधार हुन,’ उनले भने, ‘चुनाव जित्नु र हार्नु आफ्नो ठाउँमा छ, मैले यो ठाउँका लागि गर्ने सहयोग भने निरन्तर जारी रहन्छ ।’
कापी कलम वितरणपछि चक्रघट्टा गाउँपालिकाको जनता माविका निमित्त प्रधानाध्यापक इन्द्रकान्त रायले यो अत्यन्त सकारात्मक काम भएको प्रतिक्रिया दिए । ‘शिक्षित समाज भएको ठाउँमा विकास हुन्छ,’ उनले भने, ‘त्यसमा हौसला बढाउने काम राजनीतिक व्यक्तिहरुले गर्नु सर्हानिय हो । विद्यार्थीलाई पढ्न सहयोग पुग्ने काम गर्दा सबैको हौसला बढ्छ र सुन्दर समाज निर्माण गर्न सकिन्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology