बाग्लुङ । बडिगाड गाउँपालिकामा क्षयरोगीका बिरामी बढ्दै गएका छन् । पछिल्लो पाँच महिनायता बडिगाड गाउँपालिकामा ३६ जनामा क्षयरोग पहिचान भएको हो ।
अघिल्लो आर्थिक वर्षमा जिल्लाभरी एक सय ८५ जनामा संक्रमण देखिएको थियो । तीमध्ये ५६ जना बडिगाड गाउँपालिकाकै थिए ।
साउनयता गरिएको परीक्षणमा जिल्लाभर ८७ जना नयाँ संक्रमित पहिचान हुँदा बडिगाडका मात्रै ३६ जना रहेको स्वास्थ्य कार्यालय बाग्लुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।
अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधी सेवनपछि संक्रमणमुक्त भएका छन् । ‘अन्य पालिकामा संक्रमित संख्या घटेपनि बडिगाडमा सङ्मितको संख्यासँगै मृत्युदरसमेत बढेको छ’, घिमिरेले भने ।
गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चार जना थिए । स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको संख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपड्ताल विधिद्वारा बिरामी पहिचान थालेको थियो ।
पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठ जना बिरामी फेला परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र केसीले बताए ।
पालिकाको स्वास्थ्य शाखा, धौलागिरि अस्पताल बाग्लुङ र पोखराका विभिन्न अस्पतालमा गरिएको परिक्षणमा ३६ जना नयाँ बिरामी थपिएका छन् । क्षयरोगका बिरामी बढी भएका वडा नं-२, ४, ५ र ६ मा स्वास्थ्य शाखाले ‘क्षयरोगीको खोजी’ अभियान नै सञ्चालन गरेको छ ।
अभियानका क्रममा शंकास्पद दुई सय ३७ को खकारको नमूना संकलन गरी परीक्षण गरिएको केसीको भनाइ छ । वडा नं-३ र ९ मा भने संक्रमित भेटिएका छैनन् ।
क्षयरोगीको खोजपड्ताल कार्यक्रमअन्तर्गत पुराना क्षयरोगी तथा उनीहरूको सम्पर्कमा आएका शंकास्पद व्यक्तिको खकारको नमूना संकलन गर्दा आठ जनामा संक्रमण पुष्टि भएको छ । ‘यो संख्या बडिगाडमा देखिएको डरलाग्दो नमूना हो तर बडिगाडमा किन क्षयरोगीको संख्या बढ्दो छ भन्ने खोजीमै छौँ’, केसीले भने ।
वडा नं-२, ४, ५ र ६ मा फोक्सोका क्षयरोगी धेरै भेटिएकाले खोजपड्ताललाई सक्रिय बनाउनुपरेको केसीले बताए । संक्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ ।
‘स्वासप्रश्वासको माध्यमबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधी सेवन गर्न लगाएका छौँ’, केसीले भने । वडा नं-२, ५, ७ र ९ मा प्रयोगशाला सञ्चालन गरेर क्षयरोग र मधुमेह परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गाउँपालिकाले पहिचान गरेका र औषधी उपलब्ध गराएकाबाहेक पोखरा, काठमाडौंलगायतका अस्पतालमा क्षयरोग पहिचान भएका बिरामीको संख्या पनि धेरै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा पहिचान भएका बिरामीले सोही अस्पतालबाट परामर्श र औषधी लिने गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology