युरोपियन युनियनमा आबद्ध मन्त्रीहरूले नागरिकहरूको अवैध रूपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।
उनीहरूले युरोपका देशहरूमा अन्य देशबाट आएका आप्रवासीहरूको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् ।
स्टकहोममा भएको युरोपियन युनियनका गृह तथा न्याय मन्त्रीहरूको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ ।
उनीहरूले विभिन्न समस्याका कारण अन्य देशहरूबाट युरोपियन युनियनका देशमा आप्रवासीहरू छिर्ने गरेका र उनीहरू निकै असुरक्षित रूपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रूपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरू युरोप छिर्ने र यी देशहरूमा शरण माग्ने गरेका र उनीहरूलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरूले बताएका छन् ।
यसका लागि युरोपका देशहरू तयार भएपनि उनीहरूलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरूको निष्कर्ष थियो ।
सो बैठकमा ती नागरिकहरूमध्ये धेरैजसो शरणार्थीका रूपमा युरोपेली देशहरूमा प्रवेश गर्ने गरेकाले उनीहरूका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो ।
पछिल्ला वर्षहरू तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रूपमा युरोप छिर्ने व्यक्तिहरूको संख्या बढ्दै गएको देखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology