Logo

२०७९, चैत्र १९ गते आइतवार

२०७९, चैत्र १९ गते आइतवार

images

सौभाग्य सदन माविका विद्यार्थी च्याउ उत्पादनमा सक्रिय

सौभाग्य सदन माविका विद्यार्थी च्याउ उत्पादनमा सक्रिय

  • 115
    SHARES
  • सौभाग्य सदन माविका विद्यार्थी च्याउ उत्पादनमा सक्रिय

    लमजुङ । सुन्दरबजार नगरपालिकाको धुसेनीस्थित एक विद्यालयका बालबालिकाहरुले आफैंले उत्पादन गरेको च्याउबाट बिहानको तरकारी पुर्‍याउने गरेका छन् ।

    images

    सुन्दरबजार–१०, धुसेनीस्थित सौभाग्य सदन माध्यमिक विद्यालयका कक्षा ७ र ८ का विद्यार्थीहरुले पेशा व्यवसाय तथा प्रविधि शिक्षाअन्तर्गत सिकेको सीपलाई व्यवहारमा उतार्दै विद्यालयमा विहानी कक्षामा पढ्ने विद्यार्थीहरुलाई तरकारी पुर्‍याएका हुन् ।

    विद्यालयले गुणस्तर अभिवृद्धिको लागि कक्षा १० का विद्यार्थीलाई बिहान अतिरिक्त कक्षा सञ्चालन गरि बिहानको खानासमेत विद्यालयमै खुवाउने गरेको छ । पेसा व्यवसाय तथा प्रविधि शिक्षा अध्यापन गराउने शिक्षक अमृतबहादुर अधिकारीले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि च्याउ खेती गर्न सिकाएको बताए ।

    ‘उनीहरुले घरमा पनि एक दुई पोका च्याउ उत्पादन गरेर घरमा चखाएका छन्,अधिकारीले भने, ‘उनीहरुले उत्पादन गरेको च्याउ विद्यालयमा खाजाको लागि समेत प्रयोग हुने गरेको छ ।’

    विद्यालयले हाल १० कक्षासम्मका सबै विद्यार्थीलाई विद्यालयमा खाजा दिँदै आएको छ । सौभाग्य सदन माध्यमिक विद्यालयका शिक्षक तीर्थ ढकालका अनुसार गाउँका सबै बसाईं सरेका कारण विद्यालयमा विद्यार्थीको संख्या न्यून छ ।

    भएका विद्यार्थीलाई सोही विद्यालयमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष दीपकराज ढकाल पनि विद्यालयको शैक्षिक स्तर उकास्न अहोरात्र खटिएका छन् ।

    वडाभरका विद्यार्थीलाई परिचयपत्र र विद्यालय पोशाक वडाबाट सहयोग गरिएको अध्यक्ष ढकालले बताए । नगरपालिकामा कृषि विषय अध्यापन गराउने विद्यालयमा समेत प्रयोगात्मक कार्य बिरलै हुने गरेको छ ।

    ‘तर हामीले यो काम सुरु गर्‍यौँ, उत्साहित पनि छौँ ।’ च्याउ खेतीमा संलग्न विद्यार्थीहरुले भने । उनीहरूले अहिले सानो संख्यामा उत्पादन गरेका छन् । सफल भएपछि उत्साहित भएका विद्यार्थीहरु अर्कोपटक उत्पादनलाई बेचेर कापीकलम किन्ने पैसा जुटाउने सुरमा छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology