वेबटिभी खबर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरूद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।
उनले भने, ‘अहिले म्यानुअल्ली रुपमा उडान सामान्य रूपमा भइरहेको छ । सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।’
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उहाँको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए ।
अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ । कतार एयरवेजको जहाज पनि अवतरणको तयारीमा छ ।
महाप्रबन्धक ठाकुरले विगतमा पनि यस किसिमको समस्या उत्पन्न हुने गरेको भन्दै विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी बनाउन आइतबार अध्यागमनसँग बैठक बसेर आवश्यक निर्णय लिइने बताए ।
उनले सबै सरकारी सर्भर डाउन भएकाले आजको समस्या आएको जिकिर गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij