Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रतिनिधिसभा विघटनको यथार्थ: मेरो दृष्टिकोण

प्रतिनिधिसभा विघटनको यथार्थ: मेरो दृष्टिकोण

  • 1.3K
    SHARES
  • प्रतिनिधिसभा विघटनको यथार्थ: मेरो दृष्टिकोण

    संविधानको धारा ७६ (३) अन्तर्गतको सरकारमा जनता समाजवादी पार्टी तटस्थ रहनेहुँदा बहुमतको सम्भावना नरहने स्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अन्तर्गतको सरकार गठनका लागि प्रस्ताव माग भएको हो ।

    images

    धारा ७६ (५) अन्तर्गतको सरकार वस्तुतः चुनावी सरकार हुने भएका कारण जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइए पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेतावाट संयुक्त रुपमा समर्थनको पत्र प्राप्त भएको हो । 

    दलको प्रतिनिधित्व दलको नेताबाट हुने संसदीय परम्पराअनुसार नेकपा (एमाले) को १ सय २१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त संख्या प्रतिनिधिसभाको स्पष्ट बहुमत पुग्नेहुदा सम्माननीय प्रधानमन्त्रीवाट सरकारको पुनः नेतृत्वको दाबी भएको हो । 

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता शेरबहादुर देउवाले पार्टी औपचारिक रुपमा विभाजन नभएको र वैधानिक रुपमा विभाजन हुन सक्ने अवस्थासमेत नरहेको स्पष्ट हुँदाहुँदै नेकपा (एमाले) का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधामन्त्रीमा दाबी गर्नुभएको, दुवैपक्षबाट धारा ७६ (५) को प्रकृया स्वीकार  गरी प्रस्ताव प्रस्तुत भएको हो । 

    दलीय हिसाबले केपी शर्मा ओलीको दाबी बलियो रहेको, तर उक्त प्रस्ताव अन्तर्गतका केही सदस्यहरुको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको थियो ।

    देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै संख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति देखियो ।

    नेकपा (एमाले) र जसपाका तर्फबाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरुलाई कारबाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के कति संख्यामा कारबाही हुने हो भन्ने कुरा यकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिवाट दुवै प्रस्ताव बहुमत पाउने सुनिश्चितता नरहेको महसुस गरी अस्वीकृत भएको छ । 

    सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अन्तर्गतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरु अस्वीकृत भएको स्थितिमा धारा ७६ ९७० अन्तर्गतको परिस्थिति स्वतः उत्पन्न भएको यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपीशर्मा ओलीका कारणले नभइ धारा ७६ (७) को बाध्यात्मक परिस्थितिका कारणले हुन गएको हो । 

    प्रतिनिधिसभा पुनर्स्थापित हुने संवैधानिक र कानूनी आधार नभएको अवस्थामा विघटित  प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरुका तर्फबाट सर्वोच्च अदालतमा गएर दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने काम भएको छ । 

    प्रतिनिधिसभा पुनर्स्थापित हुँदाको अवस्थामा नेकपा (एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरुलाई कारबाही गर्दा देउवाजीको पक्षमा वहुमत नपुग्ने अवस्था रहेको हो ।

    नेपालको संविधान दलीय प्रणालीमा आधारित रहेको र कानूनतः जननिर्वाचित प्रतिनिधिहरु पार्टी र दलको अनुशासनमा रहनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिसत सदस्यको समर्थन आवश्यक पर्ने बाध्यात्मक कानुनी प्रवन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको छ । 

    यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन संवैधानिक र कानूनी रुपमा स्वभाविक देखिन्छ । राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रबाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनवाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुखप्रतिपक्षी दलका नेताहरुले समेत  पटक-पटक स्वीकार गरेको देखिन्छ ।

    कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन संवैधानिक र कानूनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपी शर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।

    जहाँसम्म जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली कांग्रेसजस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलीय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

    तर नेपाली राजनीति सत्ताविरोधी मानसिकताबाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति बढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहँदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो । तर त्यसबाट नेपाली राजनीति नै बहुआयामिक द्वन्द्वको शिकार बन्नुपर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ ।

    जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभाबाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिँदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरुलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु ।

    [पोखरेल लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी समिति सदस्य हुन् ।]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology