Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अदुवाको उचित मूल्य नपाउँदा किसान चिन्तित

अदुवाको उचित मूल्य नपाउँदा किसान चिन्तित

  • 451
    SHARES
  • अदुवाको उचित मूल्य नपाउँदा किसान चिन्तित

    उदयपुर । उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवा खेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् ।

    जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गरेका छन् ।

    ‘यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवा खेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन’, किसान श्रेष्ठले भने ।

    कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरूले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरू बर्सेनि मारमा पर्दै आएको जानकारी दिए ।

    जिल्लाको ताप्ली गाउँपालिका-५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो ।

    मंसिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो ४० देखि ५० सम्ममै खरिद गर्न थालेपछि किसानहरूले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

    त्रियुगा नगरपालिका-१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, ‘जिल्लाका अदुवा खरिदकर्ताले नै सुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ ।’

    मगरका अनुसार यसरी सस्तो मूल्यमा आफूहरूले खरिद गरी महंगो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरूले बिक्री गर्दै आएका छन् ।

    जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरूले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरूले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने गरेको जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरूको गुनासो छ ।

    कटारी नगरपालिका-३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने, ‘अदुवा खेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।’

    जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् ।

    उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रूपमा रहेका छन् ।

    त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रूपमा रहेको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले जानकारी दिए ।

    अधिकृत चौधरीका अनुसार जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवा खेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ ।

    जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरू अदुवाको मूल्य प्रतिकिलो ८० देखि एक सय बताउँदै आएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij