वेबटिभी खबर
सर्लाही । गोलभेडा उत्पादनमा सर्लाही जिल्ला देशकै अग्रणीमा पर्छ । गोलभेडा खेती गरेर किसानले आर्थिक उन्नती त गरेकै छन, सर्लाहीका राजमार्ग क्षेत्रमा यसले आर्थिक गतिविधि पनि बढाएको छ ।
तर यसवर्ष भने गोलभेडाको भाउ सस्तो भएर किसानलाई उत्पादन लागत उठाउनसमेत हम्मे परेको छ । अहिले सर्लाहीमा गोलभेडाको थोक मूल्य करिब ५ रुपैयाँ आसपास छ । जोताई, विउ, गोडमेल, मलखाध, चिसोबाट जोगाउन महंगो विषादीको प्रयोग गर्नु पर्ने भएकाले गोलभेडाको उत्पादन लागत बढी हुने गर्छ ।
उत्पादको सिजनमा भाउ घटेपछि भने किसानका लागि गोलभेडा खेती लाभको नभएर घाटा बढाउने माध्यम बन्ने गर्छ । कम्तीमा प्रति किलो १० रुपैयाँ मूल्य नपाए किसानलाई गोलभेडा खेतीले घाटा लाग्ने स्थानीय किसान बताउँछन ।
सर्लाहीमा उत्पादन भएको गोलभेडाको मुख्य खपत हुने ठाउँ काठमाडौं हो । काठमाडौंमा गोलभेडाको भाउ घटेपछि किसानले पनि आफ्नो उत्पादनको भाउ पाउँदैनन । गोलभेडाको सिजनमा भारतबाट पनि भारी मात्रामा भित्रिने भएकाले काठमाडौंमा यसको भाउ घट्न जान्छ । भारतमा मल, विषादी र कृषि क्षेत्रमा अनुदान भएकाले नेपालको भन्दा उत्पादन लागत कम पर्न जान्छ ।

गोलभेडाका थोक खरिदकर्ता व्यापारी शम्भु चौधरीले काठमाडौंमा भाउ नै नभएकाले किसानलाई बढी मूल्य दिन असमर्थ भएको बताए । ‘गोलभेडाको भाउ निर्धारण काठमाडौंमा कायम मूल्यका आधारमा हुन्छ,’ चौधरीले भने, ‘किसानको उत्पादन लागत नउठ्ने भाउमा गोलभेडा किन्नु पर्दा हामीलाई नै लाज लाग्छ । तर, हामीले पनि बढी मूल्य दिन सक्ने अवस्था छैन् ।’ बजारले भाउ निर्धारण गर्ने भएकाले व्यापारीले सोही अनुसारको मूल्य दिन सक्ने अवस्था रहेको वाध्यता चौधरीले सुनाए ।
सर्लाहीको राजमार्ग क्षेत्रमा पर्ने लालबन्दी, हरिवन, बागमतीमा गोलभेडाको व्यापक खेती हुने गर्छ । ती क्षेत्रमा दैनिक गोलभेडा उत्पादन २ लाख किलोभन्दा बढी हुन्छ । किसानले उचित भाउ नपाउँदै लाखौंमा नोक्सानी व्यहोर्नु पर्ने अवस्था रहेको छ ।
अहिलेको मूल्यमा गोलभेडा बजार बेच्न लग्दा ढुवानी खर्चसमेत नउठ्ने गरेको किसानको गुनासो छ । टिप्न र ढुवानी गर्ने भाडा नै प्रतिकिलो लगभग ५ रुपैयाँ पर्न जाने किसानले बताएका छन् ।
यसवर्ष उत्पादनको सिजनमा झण्डै दुई सातासम्म हुस्सु लागेकाले गोलभेडाको विरुवा जोगाउन किसानले विषादी छिट्न बढी खर्च गर्नु परेको थियो । मौसमले पनि साथ नदिएर उत्पादन लागत बढेका बेलामा घटेको भाउले किसानलाई निकै पीडा दिएको छ ।
चौधरीले अहिलेको बजार भाउमा बेच्दा किसानको उत्पादन लागतसमेत नउठ्ने स्वीकारे । भाउ बढाउन भारतीय गोलभेडाको आयात रोक्नु पर्ने उनले सुझाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij