Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

सगरमाथा दिवस

आशिषलाई संयोगले जुरेको ऐतिहासिक अवसर

आशिषलाई संयोगले जुरेको ऐतिहासिक अवसर

  • 685
    SHARES
  • आशिषलाई संयोगले जुरेको ऐतिहासिक अवसर

    गत मंसिर २३ गते मंगलबार काठमाडौंमा भएको विशेष कार्यक्रममा नेपाल र चीनले एकैपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्‍याे । जसअनुसार सगरमाथाको उचाइ ८,८४८ मिटरबाट ८,८४८.८६ कायम हुन पुग्यो ।

    images

    विगतमा पनि धेरैपटक सगरमाथाको उचाइ मापन गरिए पनि हालसम्म नेपाल र अन्तर्राष्ट्रियस्तरबाट सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरेको ८,८४८ मिटरलाई नै आधिकारिक मान्दै आएका थिए । तर भारतीय प्लेट उत्तरी अर्थात् तिब्बतीयन प्लेटमा निरन्तर घुसिरहँदा सगरमाथाको उचाइ बढेको हुन सक्ने तथा सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पका कारण सगरमाथाको उचाइमा फेरबदल आएको हुन सक्ने आशंका गरिएको थियो ।

    करिब दुई वर्षअघि नापी विभाग नेपालले सगरमाथाको उचाइ मापन गर्न सुरु गरेको थियो । जसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा सगरमाथा उचाइ मापन सचिवालय टोली गठन गरिएको थियो । टोलीले ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम प्रविधिबाट सगरमाथा मापन गरेको हो । यस प्रविधिलाई विश्वमै सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ ।

    सगरमाथाको उचाइ मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर २३ मे २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए । उनीहरूले चुचुरोमा सवा घन्टा समय बिताएका थिए । त्यसअघि सन् २०१७ डिसेम्बरमा विभागले अन्तर्राष्ट्रिय गोष्ठी गरेर विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो । सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायतका देशका प्रतिनिधिको सहभागिता थियो ।

    सगरमाथाको उचाइ मापनमा संलग्नहरू सगरमाथाको चुुचुरोमा पुगेको प्रमाण तस्बिरले दिन्छ र त्यस्तो ऐतिहासिक महत्वको तस्बिर खिच्ने मौका नेसनल माउन्टेन गाइड एवं पर्वतारोही संखुवासभाका आशिष गुरुङले प्राप्त गरेका थिए । खासमा यो उनलाई संयोगले जुरेको अवसर थियो । यो उनको कुनै पूर्वनिर्धारित कार्यक्रममा थिएन । आशिष आफ्नै जापानी समूह लिएर सगरमाथा आरोहणमा गएका थिए । २३ मे २०१९ मा उनी सगरमाथा शिखरमा पुग्दा उनको टोलीभन्दा केही अगाडि गएको सगरमाथा उचाइ मापन टोलीका सदस्यहरू पनि चुचुरोमा पुगेका रहेछन् ।

    ashish everest.jpgसगरमाथा शिखरको सामान्य तापक्रम माइनस ३० डिग्रीभन्दा कम हुन्छ । त्यो चिसोमा क्यामेराको ब्याट्री जोगाउन सक्नु निकै कठिन हुन्छ । एकपटक फुल चार्ज गरेको ब्याट्रीले चुचुरोमा मुस्किलले २० देखि २५ वटा फोटो खिच्न सकिन्छ । आशिषले सगरमाथा उचाइ मापन टोलीको ४५ वटा तस्बिर खिचेर दिएका थिए । उनले आफूसँग तीनवटा ब्याट्री लगेका थिए । त्यसरी लगेको ब्याट्रीको चार्ज यथावत राख्न आफ्नो शरीरसँग ‘टच’ गराएर राख्नु पर्छ । त्यस्तै फोटो खिच्ने बेलामा पनि अत्यन्तै सावधानीका साथ र फोटो खिच्ने बेलामा मात्र क्यामेरामा जोड्नु पर्छ । यस्तो ज्ञान सबैलाई हुँदैन । आशिषले सगरमाथा शिखरमा गुरुङको झण्डा पु¥याउने संखुवासभाकै टीकाराम गुरुङको निकटमा रहेर सगरमाथाको वृत्तचित्र बनाएका जापानीहरूसँग काम गर्ने अवसर पाएका थिए । त्यही क्रममा उनलाई ब्याट्री जोगाउने ज्ञान प्राप्त भएको थियो ।

    फोटोग्राफीको शौखिन आशिषले पछिल्लो समय क्यामेरामा पाँच लाखभन्दा बढी लगानी पनि गरिसकेका छन् भने फोटोग्राफी सम्बन्धी एड्भान्स लेभल कोर्श पनि पूरा गरिसकेका छन् । फोटोग्राफीको शौख र पर्वतारोहणले आशिषलाई सगरमाथाको उचाइ मापन गर्ने टोलीको फोटो खिच्ने अवसर प्राप्त भएको हो । उचाइ मापन टोली चुचुरोमा त पुग्यो । मापन पनि भयो तर त्यो प्रमाणलाई कैद गर्ने अवसरबाट टोली चुक्दै थियो । उचाइ मापन टोलीमा आरोहणको नेतृत्व छिरिङ जाङ्बु शेर्पाले गरेका थिए । शेर्पा र आशिषको रामै चिनजानी थियो । त्यसैले शेर्पाले आशिषलाई फोटो खिचेर दिन आग्रह गरे । आशिषले पनि शेर्पाको त्यो आग्रहलाई सहर्ष स्वीकार गरे । सगरमाथाको शिखरमा यस्तो आग्रह हत्तपत्त कसैले स्वीकार गर्दैनन् किनकि सबैलाई आफ्नो टोलीको फोटो खिच्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । तर आशिषले ब्याट्री जोगाउने त्यो ज्ञानका कारण उचाइ मापन टोली र आफ्नो टोलीको पनि फोटो खिच्न भ्याए ।

    आशिषले काठमाडौँ फर्किएपछि ती तस्बिरहरू जाङ्बु शेर्पालाई दिए । त्यसरी फोटो जाङ्बुलाई दिँदा पनि उनले एक अग्रज दाइको आग्रह स्वीकार गरेर फोटो खिचिदिएको र त्यो फोटो दिएको रूपमा मात्र लिएका थिए । त्यसको केही समयपछि उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट फोन आयो र उनको थोरै डिटेल माग भयो । अन्ततः आशिषलाई त्यो ऐतिहासिक अवसरको एक सदस्य बन्ने अवसर प्राप्त भयो । उनी पनि २३ मंसिरमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्मानित भए । यस्तो ऐतिहासिक कार्यको एक सदस्यका रूपमा सम्मानित हुने अवसर पाइएला भन्ने आशिषले सोचेका पनि थिएनन् । त्यसैले यसलाई उनी आफ्नो जीवनको एक ऐतिहासिक महत्वको सरप्राइज मान्छन् र त्यो सरप्राइजमा गर्व गर्छन् ।

    यसरी आफ्नो जीवनको एक ऐतिहासिक महत्वको सरप्राइज जिम्मेवारी पूरा गर्ने अवसर प्राप्त गरेका आशिष यो वर्ष कोरोनाको कहरका बीच पनि पुनः सगरमाथाको शिखर चुम्न सफल भएका छन् । गत १२ मेको बिहान पौने आठ बजे उनी दोस्रोपटक सगरमाथा शिखरमा पुगे । ‘सारा विश्व कोरोनासँग जुधिरहेको बेला पर्यटन क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ,’ उनी भन्छन्, ‘यस्तो बेलामा पनि सगरमाथालगायत नेपालका उच्च शिखर आरोहणमा देखिएको आकर्षणले नेपालमा पर्वतीय पर्यटन क्षेत्रको सम्भावना उच्च रहेको स्पष्ट पारेको छ । सरोकारवालाहरू सबैको ध्यान यसतर्फ जानु आवश्यक छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology