वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुकमा आगामी फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनले थप कम्पन ल्याउनसक्ने बताएका छन् ।
समसामयिक राजनीतिक परिदृश्यबारे बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् ।
‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, (सूदूरपश्चिम प्रदेश) सूप प्रदेश सरकार पतन यी घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ । राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ,’ डा.भट्टराईले भनेका छन् ।
उनले अर्थतन्त्रमा गम्भीर संकट रहेको बताउँदै भूराजनीति अरू तात्ने बताए । डा.भट्टराईले यस्तो अवस्थामा दलहरूबीच द्वन्द्व नभइ सहमतिको बाटोमा जानुपर्ने प्रश्न गरेका छन् ।
‘अर्थतन्त्रका गम्भीर संकट छदैछन् । भूराजनीति अरू तात्दैछ । अब पनि द्वन्द्व कि सहमतिको बाटो ?’, डा.भट्टराईले थप भनेका छन् ।
पार्टी सभापति रवि लामिछानेको नागरिकता विवादको विषयमा सर्वोच्च अदालतले विपक्षमा आदेश दिएको थियो । अदालतको आदेशले रविको उपप्रधान तथा गृहमन्त्री, संसदीय दलको नेता र सभापति पद गएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग पुनः सोही मन्त्रीको पद मागेको थियो । नपाएपछि सरकारबाट बाहिरीसकेको छ । रास्वपाका अन्य मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।
आज (२६ माघ) सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउन नसक्दा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij