वेबटिभी खबर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरूपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने बताएका छन् ।
आयोगको ३२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनि ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको र तिनको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरूपयोग बढेको बताए ।
उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरूपयोग बढेको उल्लेख गरे । पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरूपयोग बढेको जिकिर गरे ।
प्रमुख आयुक्त राईले भने, ‘राज्यकोषको दुरूपयोग र दोहन बढेको छ । तीनै तहका सरकारबाट स्रोतको सुनिश्तिता र पर्याप्त पूर्वतयारी विना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अधेरै छन् । यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’
विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले जानकारी दिए ।
पूर्वाधार निर्माणका लागि यन्त्र उपकरण खरिद गर्ने तर उपयोग नगर्ने र वर्षौं वर्षसम्म अधुरै रहेका आयोजनामा संलग्न पदाधिकारीमाथि अनुसन्धान अघि बढाइएको प्रमुख आयुक्त राईको भनाइ छ ।
‘सरकारी स्रातको हानिनोक्सानी तथा दुरूपयोगसम्बन्धी उजुरी बढेको छ । जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन गरिरहेको छ’, उनले भने ।
प्रमुख आयुक्त राईले प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरूरी रहेको बताए । राजस्व चुहावट, चोरी, निकारी, पैठारी, न्यून बिजकीकरण तथा राजस्व छली नियन्त्रण गरी राजस्व प्रशासनमा सुधार गर्न उनले सुझाव दिए ।
प्रमुख आयुक्त राईले सार्वजनिक क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने, जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व बढाउने, सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने तथा समाजमा भ्रष्टाचार विरोधी संस्कृतिको विकास गर्न बताए।
नेपाल भ्रष्टाचारको सूचांकमा अझै जोखिमपूर्ण स्थानमा रहेको भन्दै उनले सचेत गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij