काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ-नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन् ।
उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए । उनले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रविधिहरुको प्रयोग गर्दैगर्दा त्यसको सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्ने बताए ।
उनले भने, ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुप¥यो । नयाँ प्रविधिलाई । हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो । यो किन हुन्छ भन्दाखेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ ।’
उनले राज्य संयन्त्रले कुनैपनि प्रविधि एडप्ट गर्दा धेरैकुरा सोच्नुपर्ने बताए । उनले सूचना र प्रविधिको आजको युगमा कितावमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गर्नुभयो । विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology