Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

२० वर्ष सेवा गरेका शिक्षक र कर्मचारी सम्मानित

२० वर्ष सेवा गरेका शिक्षक र कर्मचारी सम्मानित

  • 580
    SHARES
  • २० वर्ष सेवा गरेका शिक्षक र  कर्मचारी सम्मानित

    भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४औं वर्षमा प्रवेशको अवसरमा शुक्रबार २० वर्ष सेवा गर्ने कर्मचारी, प्राध्यापकहरूलाई सम्मानपत्र प्रदान गरिएको छ ।

    images

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका हुन् । साथै विजुक्छेंले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताहरूका विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

    कार्यक्रममा बिजुक्छेँले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक भएको बताए । उनले शैक्षिक संस्थाहरूमा तालाबन्दी, तोडफोडका घटनाहरू हुन नहुनेमा जोड दिए । प्राध्यापकहरूले विद्यार्थीहरूलाई वैचारिक संघर्ष गर्न सिकाउनुपर्ने आवश्यकता उनले औंल्याए । 

    कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदारीकरणको नाउँमा शिक्षालाई निजीकरण गरिँदा गरिब जनताका छोराछोरीहरूका लागि उच्च शिक्षा हासिल गर्नु चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।

    उनले शिक्षाको लागि मात्रै देशको झण्डै १ खर्ब रूपैयाँ बाहिरिने गरेको तथ्यांक प्रस्तुत गर्दै देशका सबै कलेज र विश्वविद्यालयहरू स्तरीय भइदिएको भए पढाइको निम्ति विदेशिने विद्यार्थीको संख्या घट्दै जाने बताए ।

    शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने हाम्रो मान्यता छ भन्दै उनले देशभरिका निजी शैक्षिक संस्थाहरू सञ्चालनमा रहेको अवस्थामा भक्तपुर नपाबाट सञ्चालित कलेजहरू सफलतापूर्वक अगाडि बढिरहेको सबैको लागि उपलब्धिपूर्ण भएको बताए ।

    बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नपाका कलेजहरू देशकै सौन्दर्यको रूपमा उभिएको बताउँदै ख्वप सर्कलका शैक्षिक संस्थाहरू जनताको आशाको केन्द्रको रूपमा स्थापित भएको बताए ।

    उनले सिद्धान्त र विचार विनाको राजनीतिको कुनै अर्थ नभएको बताउँदै सांसद गोसाईले  शासक दल पद र पैसाकै राजनीति वरपर घुमिरहेको छ जुन देश र जनताको हितमा नभएको बताए । देशघाती सन्धि सम्झौता र अन्यायको विरोधमा नेमकिपाको संघर्ष जारी रहने उनले बताए ।

    त्यस्तै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले इन्जिनियरिङ क्षेत्रमा आमूल परिवर्तनको काम ख्वप इन्जिनियरिङ कलेजबाट भएको बताउँदै नपाद्वारा सञ्चालित शैक्षिक संस्थाहरू देश र जनताको सेवामा समर्पित भएको बताइन् ।

    त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. शशिधरराम जोशीले इन्जिनियरिङ विषय आफैमा उच्च गतिमा विकास भइरहेको बताउँदै इन्जिनियरिङ शिक्षाले देशको विकासमा पनि तीव्रता दिइरहेको प्रष्ट पारे ।

    त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.इ.देवीप्रसाद भट्टराईले समुदायमा आधारित ख्वप इन्जिनियरिङ कलेजले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको बताउँदै कलेजको शैक्षिक र भौतिक अवस्था प्रशंसनीय भएको बताए ।

    कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले कलेजको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology