वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा सांसदहरुले भीभीआईपीको सवारीलाई सरलीकृत गर्न सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् ।
आज बसेको बैठकको शून्य समयमा सांसद रघुजी पन्तले शुक्रबार राष्ट्रपतिको सङ्घीय संसद्को संयुक्त बैठकलाई प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक सम्बोधन गर्न आउने र जाने क्रममा भएको सवारी अवरोधपछि चौतर्फी टिप्पणी भएको बताए ।
सांसद पन्तले राष्ट्रपतिको सवारीको पटक-पटक विरोध भइरहेको भन्दै सवारीलाई सरलीकृत गर्न सरकारको ध्यानाकर्षण गरेका हुन् ।
उनले भने, ‘म आफैं पनि एक घण्टा सवारी जाममा परें । जनताले आक्रोश पोख्न थालेपछि म सांसद हो भन्ने परिचय दिनसमेत असहज महसुस भयो । यो समस्या एक पटकको होइन’, उनले भने, ‘यो काम सुरक्षा संयन्त्रको हो । सवारीसँग सम्बन्धित मापदण्ड लोकतन्त्र अनुकूल सर्वसाधरणलाई मर्का नपर्ने गरी सरलीकृत गरिनुपर्छ ।’
सांसद मुक्ताकुमारी यादवले राष्ट्रपति सवारीलाई व्यवस्थापन गर्नपर्नेमा जोड दिइन् । सवारी व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनले आपत्ति जनाइन् । भीभीआईपीको सवारीले सर्वसाधरणलाई मर्कामा पार्न नहुने भन्दै सांसद रामहरि खतिवडाले भनाइ व्यक्त गरिन् ।
बैठकमा सांसद महेशकुमार बर्तौलाले किसानले आवश्यक मल र कृषि उपजले बजार नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘मकवानपुर क्षेत्र नं २ का किसानले आवश्यक मल पाउन सकेको छैनन् । अनुदानका मल बिचौलीका कारण महँगोमा किन्न बाध्य छन् । उनीहरुले उत्पादन गरेका कृषि उपजले न बजार पाएको छ न मूल्य ।’ उनले औद्योगिक क्षेत्रको निर्माणलार्ई तीव्रता दिनसमेत माग गरे ।
सांसद मेनकाकुमारी पोखरेलले किसानका उत्पादनलाई प्राथमिकतामा राखेर बजारीकरण गर्न माग गरिन् ।
सांसद राजकिशोर यादवले किसान र व्यापारी चर्को ब्याजदरका कारण मर्कामा परेंको बताए । उनले भने, ‘व्यापारी बैंकबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्याको बाटो रोजिरहेका छन् । किसान मल र बजार अभावका कारण उत्पादन सडकमा फाल्न बाध्य छन् । जनता र राज्यबीच विश्वासको खाडल कम गर्न राज्यले गरेको वाचा पूरा गर्न सक्नपर्छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij