वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङमा गरिब परिचय पत्र वितरण सुरु भएको छ । गत साता सिरिजंघा गाउँपालिकाले गरिब परिवार पहिचान गरि उक्त परिचयपत्र वितरण सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ ।
हालसम्म १०१ परिवार अति गरिब, १५५ परिवार मध्यम र १४४ परिवार सामान्य गरिब परिवारका रूपमा पहिचान भएका छन् ।
गाउँपालिका-४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन् । तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने भएको छ ।
गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय-समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिंगगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ ।
एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण संकलन गरिरहेको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij