Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

अभावैअभावमा एउटा विद्यालय : भुइँमा बसेर पढ्न बाध्यछन् बालविकासका विद्यार्थी,  शिक्षकलाई छैन तलब 

अभावैअभावमा एउटा विद्यालय : भुइँमा बसेर पढ्न बाध्यछन् बालविकासका विद्यार्थी,  शिक्षकलाई छैन तलब 

  • 513
    SHARES
  • अभावैअभावमा एउटा विद्यालय : भुइँमा बसेर पढ्न बाध्यछन् बालविकासका विद्यार्थी,  शिक्षकलाई छैन तलब 

    खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको तालखर्कस्थित बालकन्या प्राविको भवन जीर्ण हुँदा पठनपाठनमा कठिनाई भइरहेको छ । आवश्यक भवन तथा फर्निचरको व्यवस्था नहुँदा शैक्षिक क्रियाकलाप प्रभावित भएको प्रधानाध्यापक प्रकाश राई बताउँछन् ।१५ वडा रहेको नगरका सबै विद्यालयमा पक्की भवन निर्माण हुँदा बालकन्या प्राविमा २०४४ र २०४६ सालमा बनेको भवनमै पठनपाठन भइरहेको छ ।

    images

    दिक्तेल–पाथेका र दिक्तेल–खार्मी सडकको किनारामा रहेको विद्यालय प्रांगढबाट कैयौं नेता, सांसद, स्थानीय सरकार प्रमुख लगायतका जनप्रतिनिधि हिँड्छन् तर बालकन्य प्राविको जीर्ण भवनमा कसैका आँखा परेको छैन । अभिभावक बेलायती सेनाका भूतपूर्व सार्जन शम्शेरबहादुर राईको पहलमा २०४० सालदेखि बालकन्य प्राविको नाममा पठनपाठन सुरू गरिएको थियो ।

    छाप्रोमा पठनपाठन हुँदैआएको विद्यालयलाई २०४४ सालमा जिल्ला शिक्षा कार्यालयमा विधिवत् दर्ता गरिएको हो । २०४४ सालमा अभिभावकले कच्ची भवन बनाउन श्रमदान गर्दा तत्कालीन पञ्चायतले जस्ता हाल्न सहयोग गरेको थियो । २०४६ सालमा व्रिटिस गोर्खा वेलफेयरको सहयोगमा पुरानो भवनसँगै टाँसेर दुई तले कच्ची भवन बनाइयो । त्यसयता सो विद्यालयको कुनै पनि भवन बन्न सकेको छैन । स्थापनाकालकै डेस्क र बेञ्च प्रयोग गर्दै आएको विद्यालयलाई केही समय अघि वडा सदस्य पेमादोर्ची शेर्पाले फर्निचर उपलब्ध गराएपछि केही सहज भएको प्रधानाध्यापक राई बताउँछन् ।

    कक्षा ३ सम्म पठनपाठन हुँदै आएको विद्यालयमा हाल २६ छात्रछात्रा अध्ययनरत छन् । बालविकास केन्द्रमा १२ जना, कक्षा १ मा पाँच जना, कक्षा २ मा चारजना र कक्षा ३ मा पाँचजना विद्यार्थी छन् । उनीहरू साँघुरो र धुलाम्मे कोठामा बसेर अध्ययन गर्न बाध्य छन् । भवन निर्माणका लागि पटकपटक नगरपालिका गुहार्न पुगे पनि सुनुवाइ नभएको वडा सदस्य कृष्णकुमारी पुरी बताउँछिन् । निवर्तमान मेयर दिपनारायण रिजालले कार्यरत शिक्षिका र कर्मचारीलाई शैक्षिक अनुदान उपलब्ध गराउने बाहेकका सहयोग गरेनन् ।

    मेयर तीर्थराज भट्टराईले गत १३ असारमा विद्यालयको भवनको भौतिक अवस्था, दरबन्दीदेखि राम्रा–नराम्रा पक्षका विषयमा सात दिनभित्र प्रतिवेदन उपलब्ध गराउन पत्राचार गरेका थिए । त्यो पत्र आएपछि अभिभावक र शिक्षक भवन पाउनेमा उत्साहित भएका थिए । भवन पाउने आशामा हौसिएर प्रतिवेदन बुझाए पनि भवनबाट वञ्चित गराइएको अभिभावक बताउँछन् ।

    काज प्रधानाध्यापकको भर

    बालकन्या प्राविमा हाल शिक्षक दरबन्दी छैन । राई काजमा बालकन्या प्राविमा ल्याइएको हो । उनको दरबन्दी जालपा आवि पाथेकामा छ । राईसँग हाल शिक्षिका गायत्री अधिकारी र कास सुशीला पुरी कार्यरत छन् । स्थानीय सरकारले दरबन्दी दिन कञ्जुस गरिरहेको विव्यासका पूर्वअध्यक्ष पदम पुरी बताउँछन् । अघिल्लो कार्यकालमा नगरपालिकाबाट उपलब्ध हुने शैक्षिक अनुदानबाट शिक्षिका र कासलाई तलब खुवाउने गरिएको थियो । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको चुनावपछि नेतृत्व परिवर्तनसँगै त्यो शैक्षिक अनुदान कटौती भएको छ ।

    नगर अनुदानबाट तलब लिँदै आएकी शिक्षिका अधिकारीलाई तलब दिन नसकिने भन्दै हाजिर नगराउन पत्र पठाएपछि अभिभावकले निजी श्रोतबाट मसिक १५ हजार दिनेगरी अधिकारीलाई निरन्तरता दिएका छन् । अघिल्लो जनप्रतिनिधिले जसरी आफ्नो मान्छे नियुक्ति गर्दै अघि बढ्यो भने वर्तमान जनप्रतिनिधि पनि त्यसरी नै आफ्नै मान्छे राख्ने दाउमा रहेको स्रोत बताउँछ । आगामी दिनमा बालकन्या प्राविमा नयाँ भवन निर्माण गर्ने शिक्षक दरबन्दी व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

    सडकको धुलो कक्षा कोठामा

    सडकको कुनापट्टी बालकन्य प्राविको भवन रहेको छ । सवारीसाधनले उडाएको धुलो सीधै कक्षा कोठाभित्र छिर्ने गरेको छ । धुलोले विद्यार्थी, उनीहरूको कपडा र पुस्तक धुलाम्मे हुने गरेको छ । विद्यालयको आँगन बराबरको सडकमा पानी छ्यापेर धुलो नियन्त्रण गर्ने गरिएको छ । विद्यालयमा आउने धुलो नियन्त्रणका लागि नगरपालिकासमक्ष पानी छ्याप्न पाइप माग्दासमेत नपाएको राई गुनासो गर्छन् । भवनको कुलेसोबाट पानी चिसाएर कक्षाकोठा चिसो हुने गरेको छ ।

    विद्यार्थी संख्य घटेको भन्दै भौतिक संरचना कालिका प्रावि ओखरबोटेको मातहत रहनेगरी बालकन्य प्राविलाई २०६४/०६५ मा ‘कोल्याप्स’ गरिएको थियो । विद्यालय जाने उमेरका बालबालिकालाई अन्यत्र पठाउन अप्ठ्यारो भएपछि अभिभावकको पहलमा नगरपालिकाको अनुमतिमा २०७२ सालदेखि बालकन्य प्राविको भवनमा बालविकास केन्द्र सञ्चालनमा ल्याइएको थियो । पछि २०७४ मा बालकन्या प्राविलाई पुन: नयाँ विद्यालय सरहको दर्ता प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइएको विव्यासका पूर्वअध्यक्ष पुरीले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology