Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

  • 282
    SHARES
  • परराष्ट्रमन्त्री पौड्यालसँग भारतीय विदेश सचिव क्वात्राको भेट

    काठमाडौं । परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा साेमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

    भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री डा.पौड्यालले जानकारी दिइन् । उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाईरूटका सम्बन्धमा समेत छलफल भएको बताइन् ।

    मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।

    भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका मुलुकको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राखेकी थिइन् ।

    भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आएका हुन् । नेपाल आएलगत्तै उनले सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।

    पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो ।

    विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।

    दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij