Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी

सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी

  • 275
    SHARES
  • सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी

    झापा । झापाको कमल गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको एम्बुलेन्स सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाको समन्वयमा पालिकाले सञ्चालन गरेको महिलाका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

    रेडक्रसले मानवीय सेवासँगै यो कार्यक्रम सञ्चालन गरेपछि विपन्नका लागि सुत्केरी एम्बुलेन्स कार्यक्रम बरदानझै बन्न पुगेको रेडक्रस उपशाखा सभापति चन्द्र साहले बताए ।

    साहका अनुसार पालिकाभित्र स्थायी बसोबाससँगै स्वास्थ्य जाँच नियमित गर्ने महिलालाई सुत्केरी हुने क्रममा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्न थालिएको छ । चालु वर्षबाट सुरु भएको यस कार्यक्रममा रेडक्रसले आफ्ना दुई वटा एम्बुलेन्स परिचालन गरेको छ ।

    रेडक्रसलाई दातामार्फत पाँच वर्षअघि एउटा एम्बुलेन्स प्राप्त भएको छ । एउटा भने वर्षदिन अघि मात्र पालिकामार्फत उपलव्ध भएको एम्बुलेन्सले सेवा पुर्‍याउँदै आएको छ ।

    सेवा लिन बसोबास खुलेको कागजात, नियमित स्वास्थ्य जाँचजस्ता निश्चित सर्त पूरा गरेको हुनुपर्ने उपशाखा सचिव पारषमणि राई बताए । यस कार्यक्रमबाट ग्रामीण क्षेत्रका सुत्केरी महिला लाभान्वित भएको उनको भनाइ छ ।

    चालु आर्थिक वर्ष २०७९/८० बाट सुरु भएको यस कार्यक्रमबाट हालसम्म एक सय ३४ जनाले सेवा लिएका छन् । सेवा लिने अधिकांश विपन्न समुदाय रहेको तथ्यांकमा उल्लेख छ।

    सुत्केरी महिलालाई अस्पतालसम्म पुर्‍याएबापत पालिकाले इन्धन र न्यून सेवा शुल्क उपलव्ध गराउँदै आएको सचिव राईले जानकारी दिए । प्रसूति गराउन घरदेखि अस्पतालसम्म लैजान र प्रसूतिपछि घर फर्किनका लागि एम्बुलेन्स प्रयोग गरिन्छ ।

    घरदेखि अस्पताल र पुनः अस्पतालदेखि घरसम्म जान एम्बुलेन्स निःशुल्क पाएपछि अधिकांस सेवाग्रहीले राहतको महसुस गरेको कमल १ की सुत्केरी झलिमाया सन्थालले बताइन्।

    झलिमायाले भनिन्, ‘कमजोर मात्र होइन,स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्छ भन्ने हेक्का नभएका लक्षित वर्गलाई सरकारले उपलव्ध गराउँदै आएको स्वास्थ्य सुविधाको पहुँच पुर्‍याउन अझै खाँचो छ ।’

    पालिकाले महिलाको स्वास्थ्य सुरक्षामा सघाउ पुर्‍याउन यस कार्यक्रमलाई समावेश गरी नयाँ कार्यक्रमको सुरुवात गरिएको अध्यक्ष हुकुमसिंह राई बताए । यस कार्यक्रमले महिलाको स्वास्थ्य सुरक्षामा टेवा पुगेको उनको बुझाई छ ।

    कार्यक्रमका लागि पालिकाले तीन लाखको बजेट व्यवस्था गरेको छ । कार्यक्रमको प्रभावकारिता तथा सेवागुणस्तर उपयोगी बन्दै गए बजेट बढाउने लक्ष्य राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij