वेबटिभी खबर
चितवन । नवलपरासीमा तस्करले गैंडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा १०९ वटा गैंडा बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैंडा निकुञ्जबाट बाहिरिएका हुन् । साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।
चितवनका विभिन्न नाकाबाट गैंडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैंडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्यांक नभए पनि ठूलो संख्यामा गैंडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।
उनका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैंडा बस्ती पस्ने गरेको गुनासो आउने गरेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैंडामध्ये ११ ओटा कसरा पश्चिममा रहेका आचार्यले जानकारी दिए ।
घाँसेमैदान कम र गैंडाको संख्या धेरै हुँदा आहारको खोजीमा गैंडा बस्ती पस्ने गरेको उनको भनाइ छ । गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुईवटा गैंडा मरेपछि निकुञ्जले गैंडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।
उनले भने, ‘तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैंडा राति गाउँ पस्न थालेका छन् ।’ बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैंडाले मन पराउने भएकाले पनि गैंडा बस्ती पस्ने गरेका आचार्यले बताए ।
निकुञ्जमा गैंडाको संख्या बढेसँगै सोही अनुपातमा घाँसेमैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा छ सय ९४ गैंडा छन् । तीमध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् ।
आचार्य त्यहाँका गैंडा निकुञ्जकै पूर्वी वा अन्य संरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने बताउँछन् । यससँगै घाँसेमैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उनको भनाइ छ ।
नियमित गैंडा बस्ती पसेर बाली खाने गरेपछि उनीहरुको संरक्षणप्रतिको चासो बढी भएकाले तस्कर सक्रिय हुन नसकेको आचार्यले बताए । उनले भने, ‘स्थानीयको सहयोगका कारण गैंडा संरक्षण सम्भव भएको हो ।’ यद्यपी गैंडा बाहिर आउनबाट रोक्न आवश्यक रणनीति बनाउनुपर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij