वेबटिभी खबर
सल्यान । कपुरकोट गाउँपालिका सल्यानले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ ।
गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरेपनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गाउँसभाबाट पारित भइसकेको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए ।
उनका अनुसार जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने छ ।
पालिकाले गर्भवती महिलाको अवस्था बारे बुझ्दा १२० जना गर्भवती पहिलो गर्भ परीक्षण गराउन आएकोमा ३५ जना २० वर्षमुनिका रहेको पाइएपछि यो नियम लागू गर्न बाध्य भएको अध्यक्ष पुनको भनाइ छ ।
बालविवाह हुनुमा मुख्य भूमिका अभिभावकको हुने भएकाले बालविवाह अस्वीकार गर्ने अभिभावकलाई सम्मान गर्ने पालिकाको योजना रहेको छ ।
विद्यालय उमेरका केटाकेटीको भागेर विवाह गर्ने चलन रोक्न विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले भने, ‘बालविवाह गर्ने गराउनेलाई कानुनअनुसारको कारबाही छँदै छ । बालविवाह गर्नेका अभिभावकलाई कालोसूचीमा राखेर पालिका र वडा कार्यालयबाट हुने सिफारिस र पञ्जीकरणमा दोब्बर शुल्क लिन्छौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij