वेबटिभी खबर
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८२ लाख बराबरको बियर बरामद गरेको छ । मंगलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब २ हजार ७५७ कार्टुन बियर बरामद गरेको हो ।
दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ । बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार मंगलबार काठमाडौंको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।
यस्तै बुधबार सिनामंगलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको ३५५ कार्टुन बियर बरामद गरेको थियो । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।
यसैगरी बुधबार नै विभागले सिनामंगलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।
विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।
‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ ।’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij