Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

साढे चार लाखले गरे पशुपतिनाथकाे दर्शन

साढे चार लाखले गरे पशुपतिनाथकाे दर्शन

  • 326
    SHARES
  • साढे चार लाखले गरे पशुपतिनाथकाे दर्शन

    काठमाडौं । महाशिरवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

    यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवम् सूचना अधिकारी गौरीशंकर पराजुलीले बताए ।

    बिहान छोटो लइन भएपनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ ।

    घाम लागेसँगै दर्शनार्थीको संख्या बढ्न थालेको हो । महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ।

    पशुपतिनाथमा विशेष पूजा सकेर उनले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गर्नेछन् । यो मन्दिर २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो ।

    मन्दिर उद्घाटनपछि उनले त्यहीँ प्रवचन पनि गर्नेछन् । बेलुकी नेपाल-भारत मैत्री धर्मशालामा शंकराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ ।

    यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ । महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्ने कार्यक्रम रहेको छ।

    यसैगरी नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले जानकारी दिए ।

    महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ ।

    महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरूपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

    मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ ।

    केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij