वेबटिभी खबर
काठमाडौं । दोल्ती पावर कम्पनीले सोमबार आईपीओ निष्काशन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रूपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि सोमबार निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ । आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरूको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँड गरीने कम्पनीले जनाएकाे छ ।
कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ७ लाख २९ हजार ८०० रूपैयाँ बराबारको प्रतिशेयर १०० रुपैयाँअंकित दरको १ लाख ७ हजार २९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूले उक्त आइपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरूले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
दोल्ती पावर कम्पनीले आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिंग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा भने एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij