वेबटिभी खबर
काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।
सीईओ छनोट समितिले सीईओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो । शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।
उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । उनी सिभिल बैंकको सीईओसमेत भइसकेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij