Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री दाहाल

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री दाहाल

  • 227
    SHARES
  • बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्ति फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताए ।

    सोमबार दिउँसो कास्कीको लेखनाथमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

    प्रदेश बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक राजनीतिक र आर्थिकरूपले अप्ठ्यारो परिस्थितिमा छ । राजनीतिमा दूषित हावा देखिएको छ । अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ । १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन-जुन शक्ति एक ठाउँ उभिएका थिए । फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ । राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ । राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो ।’

    राष्ट्रिय सहमतिका लागि विभिन्न विकल्प रहेकाे उनले बताए । उनले भने, ‘ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन । राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघिबढ्न सकिन्छ । हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ ।  तर ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ ।’

    उनले दुई महिना जनतामा गएर उनीहरूबारेको ‘रिपोर्ट’ ल्याउन नेताहरूलाई उनले निर्देशिन दिए ।

    उनले भने, ‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौँ, उनीहरूका सुझाव लिउँ । सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्गता भएका साथीहरू भेटौँ । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौँ ।’

    समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेकाले आगामी केन्द्रीय समितिको बैठकसम्म एउटा निष्कर्षमा पुगिने उनको भनाइ छ । उनले भने, ‘देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ । केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ । छिट्टै एउटा निष्कर्षमा पुग्छौँ ।’

    वर्तमान सरकारले जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

    अध्यक्ष दाहालले अगाडि भने, ‘नयाँ सरकारले जनताको पक्षमा महत्वपूर्ण कामहरू गरेको छ । अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ । सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ । हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij