पवित्रा खड्का
काठमाडौं । आज फागुन ११ गतेदेखि २५ गतेसम्म रोग प्रभावित जिल्लाहरूमा हात्तीपाइले विरूद्धको आमऔषधी सेवन अभियान सुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा आमऔषधी सेवन अभियान सुरु हुन् लागेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा.दीपेन्द्र रमन सिंहका अनुसार नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग विरूद्धको औषधी सेवन अभियान सन् २००३ देखि ६४ जिल्लाबाट सुरुकोमा अहिले ४८ जिल्लामा भने बन्द भइसकेको छ ।
नेपाल सरकारले २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो । लक्ष्य सफल हुन नसकेपछि २०३० सम्म समय थप गरिएको डा.सिंहले जानकारी दिए ।
हरेक दुई/दुई वर्षमा रगत जाँच गरि हेर्दासमेत यी जिल्लाका बासिन्दामा रोगको दर अपेक्षाकृत रूपमा नघटेपछि पटक/पटक औषधी खुवाउनु परेको डा.सिंहले बताए ।
यस बाहेक रसुवा जिल्लामा गतवर्ष गरिएको रक्त नमूना सर्वेक्षणमा हात्तीपाइले रोग जनस्वास्थ्य समस्याको रुपमा देखिएकाले यस वर्ष रसुवासहित १५ जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई औषधी खुवाउने लक्ष राखेको डा.सिंहको भनाइ छ ।
‘हात्तीपाइले रोग विरूद्धको औषधीबारे आममानिसमा गलत धारण भएकाले निवारणमा समस्या देखिएको छ’, डा.सिंहले भने, ‘यो अन्तिम चरणको भएर चुनौती थपिएको छ, त्यसपछि औषधी खुवाउन हामीलाई छुट छैनन् ।’
विश्व स्वास्थ्य संगठनले हात्तीपाइले रोग संसारबाट निवारण गर्न सन् १९९७ बाट अभियान थालेर २०२० सम्म विश्वबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो । सन् २००० मा विश्वका १२ करोड मानिसमा हात्तीपाइले पुष्टी भएको थियो । अहिले यो संख्या घटेर ५ करोडमा सिमित भएको छ ।
के हो हात्तीपाइले रोग ?
हात्तीपाइले रोग मानिसलाई शारिरिक रूपमा अशक्त तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ ।
मानिसको शरिरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगको असर (जस्तै हात्तीपाइले र अण्डकोष सुन्निने) देखिन्छ र यस रोगको लक्ष्ण देखिएपछि निको पार्न सकिँदैन् । धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ । यसबाट समुदायका अन्य व्यक्तिलाई सर्न सक्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न आमऔषधी सेवन अभियानमार्फत प्रभावित जिल्लाका सबैले औषधी सेवन गर्न जरुरी छ ।
यो रोगबाट बच्न के गर्ने ?
यो रोगबाट बच्न विश्वभर र नेपालमा धेरैवर्षदेखि प्रयोग हुँदै आइरहेको र सुरक्षित औषधीहरू प्रयोग गर्न पर्छ । यी औषधीहरूले हात्तीपाइले रोग लागिसकेकाहरूको उपचार हुनुका साथै रोग लाग्नबाट बचाउँछ ।
हात्तीपाइले रोगका लक्ष्णहरू देखिएपछि रोगका परजीवीहरू शरिरमा हुनसक्छन् । औषधी सेवन गरे ती परजीवीहरू मर्छ र भविष्यमा रोग देखिदैन् । दोस्रो कुरा औषधी सेवनका कारण शरिरमा भएको परजीवीहरू मानिसमा सर्दैन ।
यसका लक्षण
तीव्र वा काम ज्वरो आउन सक्छ । यसको असर कायम रहेका बेला जीउ वा टाउको दुख्ने, बान्ता हुने हुन्छ । ज्वरोको क्रम दुई र तीन दिनको अन्तरालमा हुन्छ । सुन्निएको ग्रन्थी ज्वरोको आक्रमणसँगै बढ्दै जान्छ ।
अण्डकोष सुन्निने, खुट्टा सुन्निएर हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन् । रोगीहरूको पिसाब दूधजस्तै हुन्छ । पिसाबमा लिम्फ मिसिनाले यस्तो हुने गरेको हो । ट्रपिकल पल्मोनरी एस्नोफिलियासमेत हुन सक्छ । डब्लूएचओका अनुसार यस्तो स्थितिमा भने फोक्सो पनि सुन्निन्छ । अनि खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ । दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छ ।
अन्य लक्षण
दम बढ्नु,
नशाहरू सुन्निनु,
शरीरमा कम्पन हुनु,
रगतमा इयोसिनोफिलिया देखिनु,
हातगोडामा नीला धर्साहरू देखिनु,
लामो समयसम्म सुख्खा खोकी लाग्नु
महिलाको यौन अंग तथा स्तन सुन्निनु वा दुख्नु,
पुरूषहरूमा अण्डकोष वरपरका नसाहरू फुल्नु र अण्डकोष वरिपरि पानी जम्नु,
महिला वर्गमा स्तन दुख्नु र सुन्निनु
यो रोग विरूद्धको औषधी कसले खाने कसले नखाने ?
यो औषधी खान योग्य सबैले खानुपर्दछ । २ वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनकोसम्मको सुत्केरी, छारे, मुटु रोग, मृगौला, जन्डिस, कलेजोका दीर्घ रोगीहरू, सिकिस्त बिरामी तथा ओछ्यानमा परेका बिरामीले खानु हुँदैनन् ।
औषधी खाइसकेपछि देखिने लक्ष्ण तथा ध्यान दिनु पर्ने कुरा
यो औषधी खाली पेटमा खानुहुँदैन् । शरिरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा यो औषधी सेवन गरेपछि सामान्य टाउको दुखने, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यस्तो भएमा औषधीले प्रभावकारी रूपमा काम गर्दै छ भन्ने बुझनु पर्छ । ती लक्षण केही समयमा आफैं हराएर जान्छन ।
नेपाल सरकारले हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि प्रत्येक वर्ष १ अर्ब विनियोजन गरिरहेको छ । यस वर्ष सरकारले आमऔषधी सेवन अभियानका लागि ८५ करोड रूपैयाँ छुट्याएको छ । यस्तै अभियानका लागि स्थानीय तहमा २० लाख, प्रदेश, जिल्लामा १ करोड ६० लाख, संघका लागि १२ लाख छुट्याएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij