Logo

२०७८, आषाढ ५ गते शनिवार

२०७८, आषाढ ५ गते शनिवार

कोरोना भाइरसले अनाथ बनाएका बालबालिका 

कोरोना भाइरसले अनाथ बनाएका बालबालिका 

  • 132
    SHARES
  • कोरोना भाइरसले अनाथ बनाएका बालबालिका 

    काठमाडौैं । पाँच वर्षका प्रथम र उनका १० महिनाका भाइ आयुषले अप्रिलमा कोरोना भाइरसको संक्रमणबाट बुबा गुमाए, त्यसको एक दिनपछि दिल्लीको अर्को अस्पतालमा कोरोनाकै कारण आमाले पनि उनीहरुलाई छोडेर गइन् । आमा बुबा दुवैको निधनपछि आफ्नो सबै संसार फेरिएको उनीहरुलाई थाहा थिएन् ।

    आफ्ना बाबुआमा घर फर्किन किन यति लामो समय लगाए भनेर पनि उनीहरुले बुझ्न सकेनन् । आफन्तहरुले प्रथमलाई आमा बुबा कामका लागि बाहिर गएको भन्दै फकाएर राखेका थिए । तर जति समय बित्दै गयो उनीहरुले झन् धेरै आमा बुबा खोज्न थाले । यसपछि आफन्तहरूले अनाथ बालबालिकाका लागि काम गर्ने दिल्लीस्थित गैरसरकारी संस्था (एनजीओ) लाई सम्पर्क गर्ने निर्णय गरे । गैरसरकारी संस्थाले प्रथमका दाजुभाइ दुवैलाई कसैले पालनपोषणका लागि जिम्मा लिन सक्छ भन्ने अपेक्षा गरेको छ । 

    १२ वर्षकी सोनिया र उनका ७ वर्षका भाइ अमितका बुबा पहिलो लहरको कोरोना संक्रमणबाट गत वर्ष जुनमा ज्यान गुमाए, दोस्रो लहरको घातक संक्रमणपछि यही अप्रिलमा आमाको पनि मृत्यु भयो । अहिले उनीहरु हजुरआमाको हेरचाहमा छन् । हजुरआमा आफ्ना नातिनातिनाको भविष्यप्रति चिन्तित छन् तर पालनपोषणका लागि (एडप्सन) का लागि दर्ता गर्न मानेकी छैनन् । 'म नभएपछि यीनलाई कसले हेरचाह गर्छ ? उनले भन्छिन्, यिनीहरु मेरा छोरा र बुहारीका सम्पत्ति हुन्, धेरै मानिसहरु धर्मपुत्रका लागि आइरहेका छन्, म कसरी यिनीहरुलाई दिन सक्छु ?' 

    यी फरक कथाहरु होइनन् । कोभिडले भारतभरका धेरै परिवार भताभुंग पारेको छ, कैयौं बालबालिका अनाथ भएका छन् । महिला तथा बालबालिका कल्याण मन्त्री स्मृती इरानीले हालै ट्विट गर्दै भारतमा अप्रिल १ यता २५ मेसम्म कोभिडबाट ५७७ बालबालिकाले आमाबाबु दुवै जना गुमाएको बताएकी छन् । यस सप्ताहन्तमा प्रधानमन्त्री नरेन्द्र मोदीले अनाथ बालबालिको सहयोगमा प्रति बालबालिका १३, ९७० डलर दिने पनि घोषणा गरेका छन् । 

    भारतमा बालबालिका धर्मपुत्र, धर्मपुत्री राख्नेसम्बन्धी कानुन छ, प्रत्येक राज्यमा बाल संरक्षण र कल्याण आयोग छन्, जसले जिल्ला जिल्लामा सरकारी अधिकारी नियुक्त गरेको छ । गैरसरकारी संस्थाहरुले पनि जोखिममा रहेका बालबालिका पहिचान गर्न आयोगलाई सहयोग गर्दै आएका छन् । 

    त्यहाँ बालबालिकाको पालनपोषणका लागि एक राष्ट्रिय निकायमा दर्ता गर्नुपर्छ । सबै जाँच प्रक्रिया गरिसकेपछि राज्यको बाल कल्याण समितिले बच्चालाई कानुनी रुपमा अपनाउन पाउने गरी अनुमति दिन्छ । तर भारतमा एडप्सनको दर न्युन छ । हजारौं बालबालिका अनाथ भए पनि त्यहाँ सन् २०२० को मार्चसम्ममा ३,३५१ बलबालिका दाेस्राे परिवारले अपनाएका थिए । 

    कोरोना भाइरसको दोस्रो लहरले बालबालिकाको स्थिति फरक देखाएको बाल संरक्षण आयोग दिल्लीका प्रमुख अनुराग कुन्डु बताउँछन् । 'मेरो जीवनमा यति थोरै समयमै धेरै व्यक्तिको मृत्यु भएको पहिलोपटक देख्दैछु । यसले भयावह विपत्तिले १८ वर्षभन्दा कम उमेरका धेरै बालबालिकालाई संकटमा छोडेको हुनुपर्छ । यस अर्थमा यो राष्ट्रिय आपतकाल हो', कुन्डुले भने । कुन्डुका अनुसार लामो समयका लागि अपनाइनुभन्दा आधारभूत आवश्यकता पूरा गर्ने गरी छोटो अवधिका लागि बालबालिकाको जिम्मा लिइयो भने यस समस्या समाधान गर्न सकिन्छ । 

    भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य उत्तर प्रदेशमा १,००० भन्दा बढी कोभिड अनाथ बालबालिका पहिचान गरिएको राज्य बाल कल्याण आयोगका सदस्य डा प्रीति वर्माले बताउँछिन् । 'राष्ट्रिय रूपमा वास्तविक संख्या सायद बढी छ', वर्माले भनिन्, 'आयोगले त्यस्ता बालबालिकाको पहिचान गर्न प्रहरी, गाउँ स्तरका स्वास्थ्यकर्मी र गाउँ प्रमुखलाई निर्देश गरेको छ ।' 

    बेचविखनको डर 

    महामारीको दोस्रो लहरले स्वास्थ्य प्रणाली अस्तव्यस्त भएपछि धेरै सामाजिक सञ्जाल अस्पताल, बेड, अक्सिजन र औषधिहरुको सहयोगका लागि प्रयोग भएका छन्, यीबाहेक कोभिडका कारण बाबुआमा गुमाएका बालबालिका अपनाउने आह्वानहरु पनि सामाजिक सञ्जालमार्फत गरिएका छन् । तर बालबालिकाको तस्बिर, फोन नम्बर स्थानहरु सार्वजनिक गर्दा बेचविखनमा पर्न सक्ने सम्भावना रहेको बाल अधिकारीकर्मी बताउँछन् ।

    यस्ता बालबालिकालाई शारीरिक श्रम एवं यौन व्यवसायमा लगाउने जोखिम बढी हुन्छ । प्रोत्साहन गैर सरकारी संस्थाकी कार्यकारी अधिकारी सोनाल कपुर बाबुआमामध्ये एक जनामात्रै गुमाएका बालबालिका पनि शारीरिक श्रममा लगाउन सक्ने खतरामा रहेको बताउँछिन् । यसै कारण अनाथ नभएका तर बाबु वा आमा गुमाएका बालबालिकालाई पनि त्यत्तिकै ध्यान दिनुपर्ने कपुरको भनाइ छ । एउटा घटनामा उनले भनिन्, 'आमा कोभिडका कारण धेरै बिरामी भएपछि बुबाले आफ्ना छोरीहरूलाई यौन दुर्व्यवहार गर्न थालेका थिए ।'

    कपुरका अनुसार महामारीका समयमा प्रोत्साहन संस्थामा हृदय विदारक समस्याका फोन पनि आए । एउटा परिवारमा बुबाकाे अस्पतालमा कोभिडले मृत्यु भयो, आमा संक्रमणबाटै गम्भीर अवस्थामा थिइन्, बुबाको दाहसंस्कार गर्न छोराछोरी सानै भएकाले उनीहरुलाई सहयोग चाहिएको थियो । 

    अर्को परिवारमा, आमाको मृत्यु भइसकेको थियो र आमाको मृत्युपछि विचलित भएका बुबाले तीन दिनसम्म आफ्ना बच्चाहरूलाई खुवाउन सकेनन् । ती बच्चालाई खुवाउनका लागि सहयोग पुर्‍याउन आफन्तहरूबाट फोन आएको छ, उनले भनिन् ।

    राज्य सरकारहरूले भारतका महामारी अनाथहरूको हेरचाहको लागि प्रयासहरू सुरु गरिसकेका छन् तर विज्ञहरूले भने अझै धेरै काम गर्नु आवश्यक रहेको बताउँछन् । यस अवस्थामा बालबालिकाहरु परिवारविना हुर्कन सक्ने ठूलो जोखिम छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology