Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

उर्वर फाँटमा कंक्रिटका घर, आयातित अन्नकै भर

उर्वर फाँटमा कंक्रिटका घर, आयातित अन्नकै भर

  • 269
    SHARES
  • उर्वर फाँटमा कंक्रिटका घर, आयातित अन्नकै भर

    म्याग्दी । म्याग्दीको बगरफाँट, सिंगा र बाबियाचौरमा डेढ दशकअघिसम्म धान, गहुँ, मकै र समयअनुसारको अन्नबाली लहलह झुलेको देखिन्थ्यो ।

    अन्नबालीले फाँट हरिया देखिन्थे । यहाँको उत्पादनले स्थानीयलाई १२ महिनासम्म खान पुग्थ्यो । पूर्वाधारको विकाससँगै सडक बनेर गाडी कुद्न थालेपछि हरिया फाँट कंक्रिटका घरले भरिन थालेका छन ।

    बेनी नगरपालिका-२ बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्न थालेपछि खेतीयोग्य जमिन नासिँदै गएको छ । बेनी-४ सिंगा, रत्नेचौर, मंगला गाउँपालिकाको बाबियाचौरलगायत स्थानमा सडकको पहुँच पुगेसँगै कृषि उत्पादन घटेको छ ।

    यहाँका स्थानीय आयातित अन्नको भर पर्न थालेका छन । अन्न भण्डारसँगै प्राङ्गारिक खेतीका लागि प्रख्यात गाउँ अहिले कंक्रिटको शहरमा परिणत हुन थालेपछि यहाँका किसान चिन्तित बनेका छन ।

    सदरमुकामसँग जोडिएको गाउँ भएकाले पनि यस क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता लिएको छ । खेतीयोग्य जमिनमा पक्की भवन निर्माण हुन थालेपछि उत्पादनमा ह्रास आउन थालेको हो ।

    ‘खेतीयोग्य जमिन निकै कम छन, भएका जमिनमा पनि घर ठडिन थालेपछि उत्पादनमा कमी आएको छ । आयतित खाद्यान्नमा निर्भर हुनुपर्ने अवस्था छ’, स्थानीय वेदप्रसाद शर्माले भने ।

    कृषिजन्य वस्तुको उत्पादनमा भन्दा जग्गा बेचेर बढी आम्दानी हुन थालेपछि  किसानले जग्गा बेच्न थालेका स्थानीय बताउँछन् । खेतीयोग्य जमिन घडेरी बनाउनका लागि बेच्न थालेपछि स्थानीय उत्पादनमा जिल्ला अघि बढ्न नसकेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार खेतीयोग्य जमिनको धेरै भागमा घर, उद्योग र कलकारखाना बनेका छन । सडक सञ्जाल विस्तार हुँदा कृषियोग्य जमिन मासिँदै जान थालेको छ । सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँटमा बजारको तुलनामा घडेरी सस्तोमा पाइने भएकाले घडेरी किनेर घर बनाउने आकर्षण बढेको स्थानीय बताउँछन् ।

    हाँडेभिर-बगरफाँट-सुर्केमेला-बरङ्जा सडक निर्माण भएपछि बगरफाँटमा बस्ती विस्तारका साथै जग्गाको किनबेच बढेको स्थानीयवासी भवेन्द्रविक्रम शाहले बताए । उनका अनुसार एक लाख ५० हजार सम्ममा घडेरी पाइन्छ ।

    यहाँको भूवनोटअन्तर्गत आठ प्रतिशत बेँसी, ५६ प्रतिशत उच्च पहाडी र ३६ प्रतिशत हिमाली क्षेत्र पर्दछ । समुद्र सतहदेखि ७९२ मिटरदेखि आठ हजार १६७ मिटरसम्म फैलिएको छ ।

    १५ वर्षयताको तथ्यांक हेर्दा यस क्षेत्रमा आधाभन्दा बढी खेतलाई घडेरी बनाइएको छ । हाल खेतीभन्दा आयातित खाद्यान्नका भरमा यहाँको जनजीवन चलेको छ । खेतीयोग्य जमिन बेचेर काठमाडौं, पोखरा, चितवनलगायत शहर जानेको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij