वेबटिभी खबर
चितवन । चितवनका छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपीभी) लगाइने भएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकिएको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।
खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षक शिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
यही फागुन १४ देखि १९ गतेसम्म रत्ननगरका विद्यालयमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो । विश्व स्वास्थ्य संगठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ ।
यो एचपीभी खोप लगाएपछि भाइरसको संक्रमणबाट बचाउँछ । अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा.मञ्जु पाण्डेका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभइ योनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाट समेत बचाउँछ ।
पाँचदेखि १२ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने डा.पाण्डेले बताइन । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै ‘साइड इफेक्ट’ छैन ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटक-पटक गर्भपतन गराएमा, धुम्रपान गरेमा, लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने डा.पाण्डेको भनाइ छ ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपीभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij