वेबटिभी खबर
काठमाडौं । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रूपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रूपैयाँ बराबरको प्रतिशेयर १०० रूपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।
यस्तै, सर्वसाधारणमा निष्कासन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रूपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको छ ।
उक्त आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा चैत ९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म पूर्ण आवेदन नपरेमा आयोजन प्रभावित स्थानीय बासिन्दाहरूले भने चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना रहेको स्थान, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी-आस्बा प्रणलीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij