वेबटिभी खबर
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिका जोड्ने सडक उद्घाटन गरिएको छ । केपिलासगढी गाउँपालिका-१ फेदी र टेम्के मैयुङ गाउँपालिका-१ तिम्मा जोड्ने ‘फेदी-धोद्रे-भोजपुर सडक’ उद्घाटन गरिएको हो ।
फेदीबाट धोद्रे-भोजपुर हुँदै पूर्वी तराई जोड्ने छोटो दुरीको सडक सोमबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राईले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका पूर्वअध्यक्ष कृष्णकुमार राईको कार्यकालमा फेदीबाट लामोचौंरसम्म र भोजपुरतर्फबाट धोद्रेको भालु खोलासम्म सडक बनिसकेको अवस्थामा केपिलासगढी गाउँपालिकाले साँढे १० लाख रूपैयाँ खर्च गरेर बीचको बाँकी डेढ किलोमिटर खण्ड खनेर सडकलाई जोडेको हो ।
उपभोक्ता समितिमार्फत सडक जोड्ने काम पूरा गरिएको हो । भोजपुर हुँदै पुर्वीशहर आउजाउ गर्ने छोटो दुरीको सडक बनेसँगै स्थानीय हर्षित भएको फेदीका वडाअध्यक्ष निरकुमार राईले बताए । यस सडकले अन्तर जिल्ला व्यापार, व्यवसायमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
फेदीबाट भोजपुर जोड्ने सडक सञ्जाल विस्तार भएपछि केपिलासगढी गाउँपालिकाका स्थानीयलाई पूर्वीतराई झर्न दिक्तेल-हलेसी सडकभन्दा छिटो र छोटो बाटो खुलेको छ । ‘फेदी-धोद्रे-भोजपुर सडक’मार्फत करिब दुई घण्टामा भोजपुर पुग्न सकिने गाउँपालिका अध्यक्ष राईले बताए ।
सडक उद्घाटन कार्यक्रममा खार्ताम्छाका वडाअध्यक्ष मिलनकुमार राई, सप्तेश्वरका वडाअध्यक्ष हिमालभक्त राई, बासपानीका वडाअध्यक्ष तुलाराम राई, वडासदस्य, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij