Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

बाग्लुङको आलुको बेग्दै स्वाद !

बाग्लुङको आलुको बेग्दै स्वाद !

  • 335
    SHARES
  • बाग्लुङको आलुको बेग्दै स्वाद !

    बाग्लुङ । कृषिमा अब्बल बाग्लुङको ताराखोला आलुका लागि चर्चित गाउँपालिका हो । ताराखोलाका पाँचवटै वडामा बर्खे आलु फल्छ । हिउँदमा पनि गाउँपालिका–४ का बेँसी फाँटमा आलु फलेको छ ।

    images

    ताराखोले आलुले अहिले गण्डकी प्रदेशमा नै आफ्नो नाम स्थापित गरिसकेको छ । यहाँको आलुमा मिसावट पनि छैन । किसानले आलुबाटै घर खर्च चलाउने र बालबालिका पढाउने गरिरहेका छन् ।

    आलुको बजारसमेत सजिलै पाइएकाले किसानले हरेक वर्ष उत्पादन बढाउने गरेको ताराखोला–५ की दिलकुमारी पुन बताउँछिन् ।

    आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने काममा पनि ताराखोले आलु प्रयोग हुन्छ । यहाँका किसानले आलुको चिप्स बनाउनेदेखि अन्य धेरै परिकारका लागि तालिम लिएका छन् ।

    कृषि ज्ञान केन्द्रले पनि आलु उत्पादन बढाउन लगानी गरेको छ । ताराखोलामा जस्तै बाग्लुङको ढोरपाटनमा पनि उपभोक्ताको जिब्रोमा गडिने आलु फल्छ ।

    काठेखोला गाउँपालिकाको धम्जा, बाग्लुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन आलुका लागि चर्चित ठाउँ हुन् ।

    बाग्लुङको उपल्लो पहाडी भूभागमा बर्खे आलु फल्छ भने बेँसी फाँटमा हिउँदको समयमा आलु उत्पादन हुने गरेको छ ।

    पहाडको आलु बेँसीका लागि बीउ हुन्छ । बाग्लुङ बजारमा आजकल जिल्ला बाहिरको आलु थोरै मात्र उपयोग हुन्छ । उपभोक्ताले पनि स्थानीय जातकै आलु छानेर खान रुचाउन थालेका छन् ।

    बाग्लुङमा आलुको स्थानीय उत्पादन बढ्दो छ । किसानले पनि व्यावसायिक रुपमा उत्पादन गरेर बजारमा ल्याएपछि तराईका आलुको माग घटेको छ ।

    ‘आजकल तराईबाट ट्रकमा आलु आउन छाडेको छ, अधिकांशले गाउँतिरका खोज्छन्’, व्यवसायी अर्जुन चोखालले भने, ‘स्वादमै फरक पर्ने भएपछि सबैको चाहना स्थानीय आलुमा छ ।’

    पछिल्लो समय बाग्लुङ बजारमा ताराखोला, ढोरपाटन र मुस्ताङका आलु ल्याउने गरिएको छ । ताराखोलाको आलु सानो आकारको पाइन्छ भने ढोरपाटन र मुस्ताङको आलु ठूलो आकारको हुन्छ ।

    ‘पहिला ट्रकमा आलु र प्याज प्रशस्त आउने गरेकामा केही वर्षदेखि प्याज मात्रै मगाएका छौँ’, थोक बिक्रेता गोपाल कँडेलले भने, ‘बाग्लुङकै ग्रामीण क्षेत्रबाट आइरहेको आलुले प्रशस्त पुगेको छ ।’ 

    उनले ताराखोला, ढोरपाटन र गाजामा फलेको आलु खरिद गरेर बेच्ने गरेको बताए । ती स्थानबाट पोखरा र भैरहवासम्म पनि बिक्रीका लागि किसानले आलु निकासी गर्ने गरेका छन् ।

    सजिलै पाक्ने र मीठो स्वादका कारण स्थानीय आलुको माग बढिरहेको होटल व्यवसायी बताउँछन् ।

    स्थानीय उत्पादनको आलु खानेले तराई र भारतबाट आउने आलु मन नपराउने होटल व्यवसायी रुसन सापकोटाले बताए ।

    ‘स्थानीय पाएसम्म हामीले पनि बाहिरको लिने कुरै भएन’, सापकोटाले भने, ‘पाहुनाकै चाहनाअनुसार ताराखोले र ढोरपाटनको आलु खुवाइन्छ ।’

    स्वादका कारण स्थानीय आलु नै बढी खपत भएको उनले बताए । ताराखोला र ढोरपाटनका अलावा बाग्लुङका बेँसीमा फलेको आलुको पनि उत्तिकै माग छ ।

    अघिल्ला वर्षको तुलनामा बाग्लुङमा आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्रको पनि तथ्याङ्क छ ।

    आलु लगाउने क्षेत्रफल र उत्पादन बढेकाले आत्मनिर्भर मात्र नभइ बिक्री गरेर लाखौं कमाइसमेत भित्रिएको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।

    चालु वर्ष बाग्लुङमा तीन हजार ५० हेक्टर क्षेत्रमा आलु लगाइँदा ५४ हजार आठ सय १० मेट्रिकटन आलु फलेको केन्द्रको प्रारम्भिक तथ्याङ्क छ ।

    प्रतिकिलो रु ३० मा मात्रै बेच्न सक्दा किसानले रु एक अर्ब ६४ करोड कमाउन सक्ने उनले बताए ।

    उनका अनुसार गत वर्ष जिल्लामा ४५ हजार छ सय मेट्रिक टन आलु फलेको थियो । यस वर्षको उत्पादन २० प्रतिशतले बढी हो । मौसम राम्रो परेको, उन्नत प्रविधिको प्रयोग र समयमा मलको उपलब्धताले यो अवस्था आएको उनले बताए ।

    ‘बाग्लुङको आलुमा रासायनिक मल प्रयोग भएको छैन, कम्पोष्ट मलको प्रयोग भएको छ’, भट्टराईले भने, ‘राम्रो बजार पाएकाले किसान पनि खुसी भएका छन् ।’

    ताराखोला, तमानखोला र काठेखोला गाउँपालिका तथा ढोरपाटन र जैमिनी नगरपालिकामा धेरै आलु फल्छ ।

    गलकोट र निसीखोलामा पनि आलु उत्तिकै फलाइन्छ । बाग्लुङमा ढोरपाटनको स्थानीयबाहेक कार्डिनल, जनकदेव, खुमलटार र एमएस ४२ दशमलव तीन नामका आलु बढी फलेका छन् ।

    सबैभन्दा बढी उपभोक्ताले ताराखोला र ढोरपाटनको आलु मन पराउने गरेको सापकोटाले बताए ।

    आलुको उत्पादन बढेपछि कृषि ज्ञान केन्द्रसहित स्थानीय पालिका समेतले जिल्लामा सातवटा शीत भण्डार बनाएका छन् । ती शीत भण्डारमा तीन सय ५० मेट्रिक टन बढी भण्डारण गर्न मिल्छ । एक सय १० मेट्रिक टनको भण्डारण निजी क्षेत्रले बनाएको छ ।

    आलुको उत्पादकत्व बढाउन सञ्चालित आलुजोन, ब्लक र पकेटक्षेत्र विस्तार गर्दा पछिल्लो चार वर्षमा आलुको उत्पादन दोब्बर बढेको कार्यालयका सूचना अधिकारी कुमार पुनले बताए ।

    चार वर्षदेखि हरेक वर्ष २० देखि २५ प्रतिशत बढिरहेको छ । घरघरमा फलाएर खाने आलुको रेकर्ड नभएको उनले बताए ।

    ‘जसले ठूलो परिणाममा उत्पादन गरेर बजार पठाएका छन् उनीहरुको मात्रै तत्थ्याङ्क राखिएको छ’, पुनले भने, ‘बजारमा आलुको मूल्य रु ५० देखि ९० प्रतिकिलोमा बिक्री भइरहेको छ ।’

    तथ्याङ्कका लागि किसानले रु ३० मात्र पाएको रेकर्ड बनाए पनि रु एक अर्ब ६४ करोडको आलु बिक्री भएको अनुमान गर्न सकिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # आलु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology