Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बाँकेका अधिकांश सार्वजनिक शौचालय प्रयोगविहीन

बाँकेका अधिकांश सार्वजनिक शौचालय प्रयोगविहीन

  • 333
    SHARES
  • बाँकेका अधिकांश सार्वजनिक शौचालय प्रयोगविहीन

    बाँके । पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको नेपालगञ्जमा सार्वजनिक शौचालयको समस्या देखिएको छ ।

    यहाँ स्वास्थ्य, शिक्षा र उद्योग व्यापारका लागि सेवा लिने सर्वसाधारणको दैनिक अत्यधिक भिड हुने भएपनि सार्वजनिक शौचालयको समस्या छ ।

    छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाँकेमा दुई देशका नागरिकको आवतजावत अत्यधिक हुने गर्दछ । तर भीडभाड हुने बजारका विभिन्न चोक तथा सार्वजनिक स्थानमा सार्वजनिक शौचालय नहुँदा सबैले सास्ती खेप्दै आएका छन ।

    हाल भएका सार्वजनिक शौचालय प्रयोगविहीन अवस्थामा छन । नेपालगञ्ज धम्बोझी चोक नजिकै कृषि विकास बैंकको छेउमा सार्वजनिक शौचालय भएपनि बन्द अवस्थामा छ ।

    करिब तीन वर्षअघि सञ्चालनमा आएको उक्त शौचालय केही समयमै प्रयोगविहीन भएको हो । ‘लामो समयदेखि शौचालय प्रयोगविहीन भएर थन्किएको छ’, नेपालगञ्ज उमहानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रकाश डिसीले भने, ‘शौचालयलाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल चलिरहेको छ ।’

    स्वचालित शौचालयमा समय समयमा समस्या आउने गरेको छ । समस्या समाधानका लागि दक्ष प्राविधिकको अभाव भएकाले शौचालय बन्द भएको उपमहानगरपालिकाले जनाएको छ ।

    नेपालगञ्ज उपमहानगरपालिकाले एशियाली विकास बैंक (एडीबी)को सहयोगमा ५९ लाखमा चार घुम्ती शौचालय २०७५ सालमा ल्याएको हो । नेपालगञ्जका मुख्य चोक तथा बजार साघुरिएकाले स्थान अभावका कारण घुम्ती शौचालयको व्यवस्थापन गर्न सकिएको छैन ।

    नेपालगञ्ज बजारमा भेरी अस्पताल, जिल्ला सहकारी संघ, नगरभवन, रानीतलाउ तरकारी मण्डी, महेन्द्रपार्क, बागेश्वरी मन्दिरलगायतका ठाउँमा गरी करिब एक दर्जन बढी सार्वजनिक शौचालय रहेका छन तर तीमध्ये अधिकांश शौचालय व्यवस्थापनको अभावमा प्रयोगविहीन छन ।

    नेपालगञ्जको मुख्य चोक सुर्खेतरोड र घरबारीटोल तथा खजुरारोड आसपासका व्यवसायी तथा यात्रु र बटुवाको सहजताका लागि सार्वजनिक शौचालय निर्माण गरिए पनि प्रयोगविहीन भएपछि नागरिकलाई शौचका लागि समस्या हुने गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij