Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ओलीले संसद् विघटन ठिक थियो भनेपछि विकल्प खोज्याैँ : प्रधानमन्त्री प्रचण्ड

ओलीले संसद् विघटन ठिक थियो भनेपछि विकल्प खोज्याैँ : प्रधानमन्त्री प्रचण्ड

  • 310
    SHARES
  • ओलीले संसद् विघटन ठिक थियो भनेपछि विकल्प खोज्याैँ  : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकमा संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको जानकारी दिएका छन् ।

    काठमाडौंमा बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले २६ पुसको प्रतिनिधिसभामा एमाले अध्यक्षले व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।

    उनले भने, ‘अघिल्लोपटक संविधानविपरीत संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ । संसद पुनर्स्थापना गर्न सडकसम्म गयौँ । हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर बीचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ । रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ । गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ ।’

    नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा रहेको र अहिले पनि राजनीतिक संकट र चुनौतीकै बीचमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा अभूतपूर्व मत प्राप्त भएकाे बताए ।

    बालुवाटारको पछिल्लो वार्तामा पनि आफूले निकै गम्भीरताका साथ ओलीलाई देश अप्ठ्यारो परिस्थितिमा रहेकाे जानकारी गराएकाे बताउँदै प्रचण्डले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गर्न भनेकाे बताए ।

    उनले भने, ‘मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।’

    आफ्नो लागि प्रधानमन्त्री पद ठूलो कुरा नभएको भन्दै उनले संविधान र लोकतन्त्रको रक्षा ठूलो भएको बताए । तर २६ पुसमा संसदमा केपी ओलीले संसद विघटन गर्नु ठीक थियो भनेपछि संसद विघटनको विपक्षमा रहेकाहरूले सोच्न बाध्य भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    प्रधानमन्त्रीले भने, ‘संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ । हामीसँग विगतका तीता अनुभवहरू छन् । राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो। तर विगतमा त्यस्तो भएन । यसपटक हामीले संविधानको महत्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो संघर्ष गरेको निष्ठावान नेता उम्मेदवार बनाएका छौँ । उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij