Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

  • 366
    SHARES
  • विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

    खोटाङ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ ।

    ठेकेदार कम्पनी अजिमा-मरिन-चन्द्रकुमारी थापा जेभी, काठमाडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका-२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका-५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो ।

    सम्झौताअनुसार गत असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट बुझेर लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माण स्थलमा अलपत्र पारेको छ ।

    खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोडमा विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत विद्युतीकरणको काम अघि बढाइएको थियो ।

    अजिमा-मरिन-चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाखमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो ।

    ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाखमा विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो ।

    तर उक्त कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रूपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगे यता अन्य उपकरण नलगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए ।

    लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन । डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए ।

    अँधेरी र खैलामा डोजरले अलपत्र तार चुँडाएको छ । ‘हङ्मामा तार छरपष्ट छ । पिक्लाममा पोल लडिरहेको छ,’ राईले भने, ‘डेढ वर्षअघि बल्नुपर्ने बत्ती अझै बलेको छैन । यो विद्युतको लापरवाही हो । ठेकेदारको बदमासी हो ।’

    लिकुवापोखरीका पुर्ववडाध्यक्ष खड्ग कार्कीका अनुसार निर्माण व्यवसायी दिनेश थापाले ४९ वटा पोल पिक्लाम र बेगुवामा बेवारिसे अवस्थामा राखेको छ । ढुवानीको जिम्मा लिएका भविन कार्कीले हालसम्म भुक्तानी पाएका छैनन् ।

    विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराइरहेको छ । निर्माण कम्पनीले उपलब्ध सामग्री ढुवानी गरेर एचटि तथा एलटि लाईनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ ।

    ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीको भनाइ छ । विद्युतीकरणका लागि आवश्यक एबीसी केवल, डिस्क, पिन, तार, च्यानल हार्डवेर स्टोरमा रहेको दिक्तेल वितरण केन्द्रले जनाएको छ।

    ठेकेदार सम्पर्कविहीन

    विद्युतीकरणको ठेक्का लिएको निर्माण कम्पनीले सम्झौता मिति भित्र काम सम्पन्न नगरेपछि २०७९ पुस ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको म्याद पनि कामै नगरी गुज्रिएपछि ठेकेदार कम्पनी पुनः म्याद थपका लागि सम्पर्कमा नआएको प्राधिकरणको दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

    विद्युतीकरणको काम अलपत्र पारेपछि २०७९ भदौ ७ गते ताकेता पत्र पठाएको दिक्तेल वितरण केन्द्रले सम्झौता उल्लंघनका विषयमा २०७९ मंसिर १८ गते स्पष्टीकरण माग गरेको थियो ।

    जवाफमा २०७९ मंसिर २५ गते स्पष्टीकरण दर्ता गरेको ठेकेदारले २०७९ माघ ३० गतेसम्ममा सबै काम सक्ने मञ्जुरनामा गरेका थिए । तर, निर्माण व्यवसायी थापाले फोन नै उठाउन छाडेको लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजीले जानकारी दिए ।

    ‘अहिलेसम्म ८० वटा पोल झारेका छन । आधा क्वायल तार छरपष्ट परेको देखिन्छ,’ महाराजीले भने, ‘पुस १५ गते फोन गर्दा पाँच दिनपछि आएर काम गर्छु भनेको ठेकेदारले अहिले फोन उठाउन छाडेको छ ।’

    विद्युतीकरणको काम अलपत्र हुँदा अधिकांश सेवाग्राहीका मिटरबक्स पनि थन्किएका छन । लिकुवापोखरीमा प्रति घर चार हजारका दरले रकम उठाएर लगिएको मिटर बक्स हालसम्म राखेकै ठाउँमा थन्किएका छन ।

    लिकुवापोखरीका सेवाग्राहीबाट रकम उठाएर विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक शिव श्रेष्ठले २०७७ भदौमा दिक्तेलबाट ३० सेवाग्राहीको मिटर बक्स लगेर पुर्ववडाध्यक्ष कार्कीको घरमा थुपारेका छन ।

    लालपुर्जा नभएका सेवाग्राहीबाट श्रेष्ठले मिटर बक्स ल्याउनका लागि प्रतिपरिवार छ हजारका दरले रकम उठाएका थिए । श्रेष्ठले पैसा उठाएर मिटर बक्स खरिद गरेर गाउँमा लगिदिने ठेक्का लिएका हुन ।

    विद्युतीकरणको काम अलपत्र पर्दा र ऋणपान गरेर ल्याएको मिटर बक्स हलसम्म प्रयोगमा नआउँदा सेवाग्राही आक्रोशित छन । विद्युतीकरणका क्रममा मिटर बक्स र घरसम्म पुग्ने तार स्वयं ग्राहकले खरिद गर्नुपर्ने हुन्छ ।

    विपक्षीले राजनीतिक फाइदाका लागि पुर्ववडाध्यक्ष कार्कीले मिटर बक्स आफ्नो घरमा राखेको आरोप लगाउँछन् । कार्कीले भने विद्युतीकरण सकिएपछि लैजानेगरी आफ्नो घरमा मिटर बक्स स्टोर गरिएको बताउँछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij