वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेस नेतृ डा.डिला संग्रौलाले सरकारले तराई-मधेस क्षेत्रको गिटी-बालुवा भारतलाई बेचेर त्यहाँको जमीनलाई मरुभूमि बनाउन लागेको भन्दै आपत्ति जनाएकी छिन् ।
प्रतिनिधिसभा विघटित रहेको अहिलेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष ०७८/७८ को बजेटमा भारतसँग नेपालको व्यापारघाटा घटाउने भन्दै तराई-मधेस-चुरेक्षेत्रका नदीजन्य सामग्री भारतलाई बेच्ने घोषणा गरेपछि यसको चौतर्फी विरोध भएको छ । यसैबीच नेतृ संग्रौलाले सरकारको यस्तो निर्णयलाई फिर्ता गर्न सबै नेपाललीले दबाब दिन अपिल गरेकी छिन् ।
‘हालै अध्यादेशमार्फत ओली सरकारले जारी गरेको आर्थिक वर्ष २०७८/७९को बजेटमा बालुवा ,गिट्टी, ढुंगा विदेशमासमेत निकासी फुकुवा गर्ने घोषणाले चुरे ध्वस्त पार्ने र तराई मधेसका जनतालाई बाढी र डुबानमा पार्ने र मरुभूमीकरणमा रुपान्तरण गर्ने आपत्तिजनक र राष्ट्रघाती निर्णय गरेको छ। यो सरकारको गैरजिम्मेवार र तराई मधेस विरोधी नीतिको उजागर गर्दछ । आफुलाई राष्ट्रवादी भन्ने ओली सरकारले देशका सम्पुर्ण प्राकृतिक स्रोत र साधनको बिचौलिया एवम् डनतन्त्रमार्फत बिक्री वितरण गर्न उद्दत नै छन्,’ संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘वर्षेनी हुने बाढी र डुबानको समस्याले आक्रान्त भएको तराई मधेसलाई समुल रुपमा नष्ट गर्ने षडयन्त्र त हैन ? यसर्थ सरकारको यो नीतिले तराई मधेस त समस्यामा पर्छ नै देशको आर्थिक स्रोत र साधनलाई दुरुपयोग गरी सत्ता टिकाउने माध्यमका रुपमा लिइने यो नीति घोर भर्त्सनायोग्य छ । यस्तो राष्ट्रघाती नीतिको विरुद्धमा सम्पुर्ण नागरिक एकभै विरोध गरौं, चारैतर्फबाट आवाज बुलन्द गरौं र नीर्णय फिर्ताका लागि सरकारको प्रतिरोधमा सम्पुर्ण नेपाली लागौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij