वेबटिभी खबर
काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट नेविसंघका विद्यार्थी नेताले लोकप्रिय र स्वभाविक दावेदार विद्यार्थीलाई मात्र स्ववियुको उम्मेदवार बनाउनु पर्ने माग गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित सिटौला निकट विद्यार्थीको भेलाले स्ववियु चुनावमा आसेपासेलाई मात्र टिकट दिए विद्रोह गर्ने चेतावनी पनि दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा स्ववियु सभापतिकी दावेदार पद्मा भुसालको सभापतित्वमा भएको कार्यक्रममा गुटको नाममा लोकप्रिय नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न नेतृत्वलाई खबरदारी गरेकाे हाे । विधान, पद्धती र विद्यार्थीको आवाज उठाउन खोज्नेलाई गुटको नाममा पाखा नलगाउने भेलाले कडा चेतावनी दिएको छ ।
भेलामा कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले प्रमुख अतिथि थिए । नेविसंघका नेता मनिष सिम्खडाले भेलामा संगठनमा दुःख गरेका, विद्यार्थीमाझ लोकप्रिय, पद्धतीअनुसार चल्नेलाई टिकट नदिए विद्रोहसम्म गर्नसक्ने विषयमा छलफल भएको बताए ।
भेलामा नेविसंघका बागलुङका पार्टी जिल्ला सभापति जीत शेरचन, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पुर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, नेताहरु इन्दु शर्मा, लिलाबल्लभ दाहाल, दिपेन्द्र क्षेत्री, सुशिल भट्ट, दीपक ओझा, निराजन शाही, मनिष रायमाझी, राजकुमार उप्रेती, महेश पौडेल, सुभाष घिमिरे, प्रशान्त लामिछाने, विनोद बराललगायत सहभागी थिए । भेलामा उपत्यकामा तत्काल उपस्थित सयौं नेता कार्यकर्ता सहभागी भएको सिम्खडाले जानकारी दिए ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij