वेबटिभी खबर
काठमाडौं । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय यादवविरूद्ध उजुरी परेको छ ।
उनी विरूद्ध नेकपा एमालेका संसद महेश बर्तौलाले नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार उजुरी दर्ता गरेका हुन ।
राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेले जसपाका उम्मेदवार यादवविरूद्ध उजुरी दिएको हो । साथै यादवको उम्मेदवारी कानुनविपरीत रहेको एमालेको दाबी छ ।
यद्यपि जसपाबाट उम्मेदवारी दिएका यादवको नाममा शुक्रबार नै प्रश्न उठ्न थालेपछि जसपाबाटै प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन । ९ दलीय गठबन्धनका शीर्ष नेताहरूले कांग्रेसलाई राष्ट्रपतिमा निर्वाचित गरेर जसपालाई उपराष्ट्रपतिमा सहयोग गर्ने सहमति गरेका थिए ।
एमालेबाट भने उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन । उपराष्ट्रपति निर्वाचनको तयारीका सन्दर्भमा आइतबार उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । त्यस्तै चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।
यसअघि शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले खस-आर्य बाहेकका समुदायका महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij