Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

च्याउखेतीबाट सफल महिला उद्यमी, वार्षिक आठ लाख बचत

च्याउखेतीबाट सफल महिला उद्यमी, वार्षिक आठ लाख बचत

  • 384
    SHARES
  • च्याउखेतीबाट सफल महिला उद्यमी, वार्षिक आठ लाख बचत

    दाङ । गरे के हुँदैन ? भन्ने भनाइ नेपाली समाजमा निकै सुनिन्छ । तर काम गरेर देखाउनेको संख्या भने निकै कम हुन्छ ।

    images

    सामान्य काममा पनि निरन्तरको मेहनत र लगाव हुने हो भने स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन दाङ तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुरकी ५८ वर्षे तुलसा बुढा मगर ।

    पछिल्लो डेढ दशकदेखि च्याउखेती गरिरहेकी मगरले च्याउखेतीबाट वार्षिक आठ लाखसम्म बचत गर्छिन् । चौध वर्ष स्वयम्सेविकाका रूपमा विभिन्न जिल्ला पुगी सेवा गरेकी उनले चितवनमा च्याउखेती देखेपछि आफू यो खेतीतर्फ आकर्षित भएको बताउँछिन् ।

    दुई सन्तानकी आमा मगरलले शिक्षाका नाममा सामान्य लेखपढ मात्रै गरेकी छिन भने व्यवसायमा श्रीमानको राम्रो साथ पाएकी छन । च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेकी उनले केन्द्रीय स्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसकेकी छन ।

    गत वर्ष पनि उनलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रूपमा पुरस्कृत गरेको थियो । ‘धेरै महिला तथा पुरुष अहिले बेरोजगारी भए भन्दै विदेश जानुहुन्छ, तर स्वदेशमै पनि केही गर्न सकिन्छ’, तुलसाले भनिन्, ‘गाउँमै पनि थोरै लगानीमा आयआर्जन मूलक व्यवसाय गर्न सकिन्छ ।’

    उनले च्याउ बिक्रीबाट हालसम्म आफूले लाखौं रकम बचत गरी पक्की घर तथा सम्पत्ति जोडिसकेको जनाकारी दिइन् । विगत डेढ दशकदेखि च्याउखेतीमा संलग्न उनले अहिले च्याउ उद्योगमा चार जनालाई रोजगारी दिएकी छिन ।

    एक सफल उद्यमी महिलाको रूपमा स्थापित भएकी मगरले उत्पादन गर्ने च्याउबाट अचार, सुकुटीलगायतका उत्पादन दाङ तथा जिल्ला बाहिर पनि जाने गरेको छ ।

    ‘अबको चाहना आफूले उत्पादन गरेको सामग्री अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने हो’, तुलसाले भनिन्, ‘यसका लागि सबैको सहयोग आवश्यक छ ।’ अहिले ताजा च्याउप्रति प्रतिकेजी दुई सयदेखि दुई सय बीससम्म बिक्री गर्दै आएकी छिन ।

    साथै च्याउको सुकुटी प्रतिकेजी तीन सयदेखि तीन सय ८० सम्म र च्याउको अचार प्रतिकेजी पाँच सयदेखि ६ सयसम्म बिक्री हुँदै आएको छ । अहिले च्याउको सिजन भएकाले पनि उनको उद्योगमा च्याउ खरिद गर्ने जानेको संख्या बढ्दो गएको छ ।

    उनी बिहानैदेखि बेलुकासम्म च्याउ बिक्रीमै व्यवस्त हुनछिन् । सुरुका दुई वर्षसम्म गंगामाला समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उनले हाल आफनै च्याउ प्रशोधन केन्द्र समेत सञ्चालन गरेकी छन ।

    तीन लाखबाट निजी च्याउ उद्योगको सुरुआत गरेकी उनले हालसम्म च्याउखेतीबाट गरेको आम्दानीले एक करोड मूल्य बराबरको पक्की घर खरिद तथा च्याउखेतीका लागि आवश्यक सामग्री खरिद गरेकी छन ।

    त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमी भनि साना तथा मझौला उद्योगबाट निःशुल्क रूपमा च्याउ प्रशोधन मेसिनसमेत प्राप्त भएको छ।

    ‘अहिले आफनै च्याउ उद्योग तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएकी छु । यसबाट पनि सफल भए जिल्लाका अन्य स्थानमा च्याउखेतीको तालिम दिन जाने योजना बनाएकी छु ।’

    रासस

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology