वेबटिभी खबर
वाशिंटन । अमेरिकी स्पेस एजेन्सी नासाले शुक्र ग्रहको वायुमण्डलमा दुई वटा अन्तरिक्ष यान पठाउने भएको छ । नासाले करिब ३० वर्षपछि अन्तरिक्ष यान यस ग्रहमा पठाउन लागेको हो । यी दुई मिसनका लागि ५० ५० करोड डलर बजेट प्राप्त हुनेछ । यी मिसन सन् २०२८ र सन् २०३० बीच सञ्चालन हुनेछन् ।
नासाका प्रशासक बिल नेल्सनले यी मिसनको माध्यामबाट ३० वर्षयता पहिलोपटक यस ग्रहबारे अनुसन्धान गर्ने अवसर मिल्ने बताएका छन् । शुक्र ग्रहका लागि सन् १९९० मा पठाइएको अन्तिम अन्तरिक्षयान म्याजेलन आर्बिटर हो ।
यी दुई मिसनहरू वैज्ञानिकहरूको मूल्य र विकास योजनामा सुधारको सम्भावनालाई ध्यानमा राख्दै पदाधिकारीहरूको समीक्षा प्रक्रिया पछि छानिएका हुन् ।
बिल नेल्सनले भने, 'यी दुई संयुक्त अभियान हुन्, जसले शुक्र ग्रह कसरी आगोको गोलाजस्तो बन्न पुग्यो र सतहमै पनि सिसासमेत पग्लन्छ भनेर बुझ्न कोसिस गर्नेछन् ।'
डाभिन्ची प्लस नामक पहिलो मिसनले शुक्र ग्रह कसरी विकसित भएको, त्यहाँ कुनै महासागर थियो कि थिएन भनेर खोज्नेछ । यसले शुक्रको सबैभन्दा पुरानो भूवैज्ञानिक क्षेत्रका तस्बिरहरु पनि खिचेर पठाउनेछ ।
दोस्रो मिसन भेरिटासले शुक्र ग्रहको सतहको नक्साकंन गरेर त्यसको भौगोलिक इतिहास पत्ता लगाउनेछ र शुक्र ग्रह पृथ्वीभन्दा भिन्न तरिकाले अघि बढ्यो भनेर अध्ययन गर्नेछ । रडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प छन् वा छैनन् त्यो पनि खोजिनेछ ।
शुक्र सुर्यको वरिपरि घुम्ने हाम्रो सौर्यमण्डलको दोस्रो ग्रह हो । साथै सौर्यमण्डलको सबैभन्दा तातो ग्रह हो । यस ग्रहको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij