Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

  • 352
    SHARES
  • ‘उज्यालो टीकापुर’ अभियानले सार्थकता पाउँदै

    कैलाली । टीकापुर नगरपालिकाको ‘उज्यालो टीकापुर’ अभियानलाई नागरिकहरूले सकारात्मकरूपमा लिएका छन ।

    बजार तथा नगरपालिकाका मुख्य चोकमा जडान हुन थालेका ‘हाइमास्क लाइट’ले टीकापुरको शान्ति/सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।

    रातको समयमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि नगरपालिकाको उज्यालो टीकारपुर अभियान शान्ति–सुरक्षाका दृष्टिले निकै उपयोगी भएको स्थानीय प्रकाश चौधरीले बताए ।

    ‘हिजो र आजको स्थिति हेर्दा हामीले परिवर्तनको महसुस गरेका छौँ । आज केही स्थानमा भएपनि रातको समयमा उज्यालो हुन थालेको छ’, प्रकाशले भने, ‘जोखिम भएका क्षेत्रमा उज्यालो बनाउने नगरपालिकाको अभियानलाई स्थानीयले स्वागत गर्नुपर्छ ।’

    अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा नगरपालिकाको मुख्य छ स्थानमा हाइमास्क लाइट जडान गर्न लागेको हो । जसमध्ये एउटा लाइट जडानको काम सम्पन्न भइसकेको छ भने अन्य पाँचवटा लाइट जडानको काम भइरहेको नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारूले जानकारी दिए ।

    अन्य बिजुलीका पोलमा पनि नगरपालिकाले जोखिमको अवस्था हेरेर लाइट जडानको काम गर्दै आएको छ । विशेषगरी टीकापुर बजार क्षेत्रको अवस्था पहिलेको तुलनामा फेरिएको छ । बजारका मुख्य चोकमा उज्यालो हुँदै गएको छ ।

    ‘स्थानीय नागरिकको चाहनाअनुसार उज्यालो टीकापुरको अभियानलाई सार्थक बनाउने काममा लागेका छौँ’, नगरप्रमुख थारूले भने, ‘विकासका काममा आवश्यकताका आधारमा काम गर्ने उद्देश्य हाम्रो हो । त्यो आवश्यकतामध्ये सार्वजनिक स्थानमा उज्यालो बनाउने कार्यलाई प्राथमिकता दिएका छौँ ।’

    हाइमास्क लाइट जडानका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ५४ लाख विनियोजन गरेको थियो । मार्क कन्स्ट्रक्सन जेभीले ३४ लाखमा कामको ठेक्का पाएको छ ।

    बजार क्षेत्रमा दुई, टीकापुर खक्रौला सडकखण्डका विभिन्न चौराहमा तीन र टीकापुर पार्कको प्रवेशद्वार नजिएकै एउटा हाइमास्क लाइट जडान गर्दैछ । लाइट जडानको काम चैत मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने छ ।

    नगरपालिकाका इञ्जिनियर राजेन्द्र रावलले लाइट जडानको काम अन्तिम चरणमा रहेको बताए । उनले कामको जिम्मा पाएको निर्माण कम्पनीले समयावधिभित्रै काम गर्ने बताउँदै त्यसले उज्यालो टीकापुरको अभियानलाई टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

    नगरप्रमुख थारूले अन्य क्षेत्रमा सोलारबत्ती जडानको काम पनि सुरु हुने बताए । नगरप्रमुख थारूका अनुसार सोलारबत्ती जडानका लागि १० लाख बजेट रहेको बताउँदै सोलारबत्ती शिविर क्षेत्रमा जडान गरिने छ ।

    ‘शिविर क्षेत्र र खुला स्थानमा सोलारबत्ती जडान गर्छौँ । खुला स्थानलाई व्यवस्थित गरी खेलकुद मैदानका रूपमा काम भइरहेकाले पनि त्यहाँ उज्यालो आवश्यक छ’, नगरप्रमुख थारूले भने, ‘खुला स्थानलाई व्यवस्थित बनाउन आपराधिक क्रियाकलापमा लागेका  युवाहरूलाई सुधान गर्न सकिने स्थिति रहन्छ ।’

    नगरपालिकाले उज्यालोसँगै सार्वजनिक स्थानमा सिसी क्यामेरा जडान पनि गर्ने भएको छ । शान्ति/सुरक्षाको जोखिम भएका क्षेत्रमा सीसी क्यामेरा जडान गरेर आपराधिक क्रियाकलापलाई रोक्न सकिने विश्वास नगरपालिकाले लिएको छ ।

    ‘पहिलो चरणमा तार जडानको काम सक्छौँ । बढी जोखिम भएका क्षेत्रमा यसै वर्ष सीसी क्यामरा जडान गर्छौ’, नगरप्रमुख थारूले भने, ‘बाँकी आउँदो आर्थिक वर्षमा जडान गर्छौ । टीकापुर सबै दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश हामीले दिनुपर्ने छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij