वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघको प्रमुख बासस्थानका रूपमा प्रख्यात रहेको छ ।
पाटेबाघका लागि थोरै क्षेत्रफल भएपनि यहाँ ३६ बाघ रहेका छन । विश्वकै दुर्लभ मानिने बाह्रसिङ्गाको झुण्ड देख्न पाइने शुक्लाफाँटा पाटेबाघका लागि पनि प्रख्यात हुन थालेको छ ।
तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, गुणस्तरीय बासस्थान लगायतले गर्दा बाघको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका संरक्षण सहायक अधिकृत मनोज ऐरले तराईका अन्य राष्ट्रिय निकुञ्जभन्दा शुक्लाफाँटामा धेरै बाघ रहेको बताए । ‘शुक्लाफाँटा बाघको राम्रो बासस्थान बनेको छ’, सहायक अधिकृत ऐरले भनिन्, ‘यहाँ बाघको आहाराका प्रजाति धेरै हुनुले पनि बाघको संख्या बढेको हो ।’
उनले शुक्लाफाँटाभित्र रहेको ठूलो घाँसेमैदान, तालतलैया र बाघका लागि प्रशस्त आहारा प्रजाति रहेको जानकारी दिए । शुक्लाफाँटामा बाघको प्रमुख आहारा बाह्रसिङ्गा, रतुवा, चित्तल र बँदेल छन ।
‘निकुञ्जभित्र प्राकृतिक ताल र तीन ठूला नदी छन’, सहायक संरक्षण अधिकृत ऐरले भने, ‘यो बाहेक निकुञ्ज कार्यालयले १४ कृत्रिम तालसमेत बनाएको छ, त्यसले गर्दा वन्यजन्तुलाई प्यास मेटाउन सहज भएको छ ।’
निकुञ्ज क्षेत्रमा चौधर नदी, स्याली नदी र महाकाली नदी रहेका छन । चौधर नदी यहाँका वन्यजन्तुका लागि प्यास मेटाउने प्रमुख नदी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्ज प्रशासन, नेपाली सेना र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिको पनि संरक्षणले चोरीसिकारी शून्य भएका कारण पनि बाघको संख्यामा वृद्धि भएको हो ।
२०१३ को गणनाअनुसार १७ बाघ रहेको यस निकुञ्जमा २०२२ को गणनामा संख्या ३६ पुगेको हो । निकुञ्जको वरिपरि मानव बस्ती भएपनि बाघ र मानवबीच द्वन्द्व नरहेको निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जमा २००८ देखि स्वचालित क्यामरा प्रविधिबाट बाघ गणना तथा अनुगमन भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij