वेबटिभी खबर
जेरुसेलम । इजरायलको राष्ट्रपतिमा वरिष्ठ राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को महिना समाप्त हुँदेछ ।
आलंकारिक मानिने इजरायलको राष्ट्रपतिको कार्यकाल सात वर्षको हुन्छ । हर्जोगले राष्ट्रपतिका अर्का उम्मेदवार मेरियम पेरेजलाई पराजित गरेका थिए ।
चुनावी नतिजा सार्वजनिक भएलगत्तै नवनिर्वाचित राष्ट्रपति हर्जोगले आफू सबै जनताको राष्ट्रपति हुने विश्वास व्यक्त गरे । साठी वर्षीय हर्जोगले भने, 'हामीले इजरायलको अन्तर्राष्ट्रिय छविलाई सुदृढ गर्नु पर्नेछ र इजरायल विरोधी भावनालाई हटाउन प्रयत्न गर्नु पर्नेछ । साथै हाम्रो लोकतन्त्रको स्तम्भलाई संरक्षण गर्नु पर्दछ ।'
हर्जोग यसअघि लाबोर पार्टीको पूर्व प्रमुख रहनुका साथै सन् २०१५ मा संसदमा विपक्षी दलको नेता थिए । उनी सन् २०१५ का चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको विरुद्धमा चुनावी मैदानमा उत्रिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij